एथ्लेटिकोका फेलिक्सलाई कोरोना संक्रमण

एजेन्सी, माघ २१
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका युवा फरवार्ड जुआओ फेलिक्स कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । क्लब एथ्लेटिकोले अफिसियल प्रेस नोट जारी गरेर पोर्चुगिज खेलाडीको पिसिआर जाँच रिपोर्ट पोजेटिभ आएको बताएको छ । यससँगै फेलिक्सले अब कम्तीमा दुई साताका खेल गुमाउनेछन् ।

फेलिक्सको कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनमा कोरोनाको लक्षण भने देखिएको छैन । उनको स्वास्थ्य अवस्था एकदमै सामान्य रहेको छ । र, उनी क्लबको मेडिकल टिमको निगरानीमा होम आइसोेसनमा बस्न थालिसकेका छन् । फेलिक्सले पछिल्लोपटक ला लिगामा क्याडिजविरुद्धको खेल खेलेका थिए । अब मंगलबार एथ्लेटिकोले सेल्टा भिगोसँग खेल्नेछ ।

फेलिक्सले कोरोनाका कारण ला लिगाका चार खेल गुमाउनेछन् । उनले आगमी सेल्टासँगको खेल, त्यसपछि ग्रानाडासँगको खेल पनि गुमाउँदा त्यसपछि लेभान्टेसँग हुने लगातार दुई खेल पनि गुमाउनेछन् । जारी सिजन फेलिक्सले २६ खेल खेल्दै ९ गोल गरेका छन् । फेलिक्स च्याम्पियन्स लिगको अन्तिम १६ मा चेल्सीविरुद्धको खेलबाट मैदान फर्किनेछन् । चाँडै कोरोनामुक्त भए उनी त्यसअघि नै मैदान फर्किन पनि सक्नेछन् ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार १६:११
Loading...