रोनाल्डो ‘दशककै सर्वोत्कृष्ट युरोपियन खेलाडी’ घोषित : यस्तो छ सूची

एजेन्सी, माघ २१
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पछिल्लो दशकका लागि युरोपकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनलाई ‘आईएफएफएचएस’ले हिजो (मंगलबार) ३६ वर्षका रोनाल्डोलाई पछिल्लो दशक सन् २०११–२०२० सम्मको अवधिका लागि नम्बर १ खेलाडी (युइएफए प्लयेर अफ द डिकेड) घोषित गरेको हो । यसअघि सोही संस्थाले रोनाल्डोलाई नै पछिल्लो दशकका लागि नै विश्वभरबाट बेस्ट खेलाडी र दशककै बेस्ट गोलकर्ता खेलाडी घोषित गरिसकेको छ ।

यसपटक सो संस्थाले पछिल्लो दशकमा युरोपियन घरेलु लिग तथा च्याम्पियन्स लिग फुटबलमा गरेको प्रदर्शन, सफलता, उपाधि र व्यक्तिगत तथ्यांकलाई आधार मानेर बेस्ट खेलाडी घोषणा गरेको जनाएको छ । यस अवधिमा रोनाल्डोले प्रिमियर लिगबाट स्पेनिस ला लिगा क्लब रियल मड्रिडमा सरेर पनि चार च्याम्पियन्स र चार बालोन डिओर अवार्ड जितेका थिए । च्याम्पियन्स लिग उपाधिमा त उनले ह्याट्रिक नै गरे । रियलमै छँदा उनले ला लिगा र च्याम्पियनस लिगमा उत्कृष्ट प्रदर्शन गर्दै असंख्या कीर्तिमानहरू बनाए ।

यता, सो संस्थाले आफ्नो प्रेस नोटमा रोनाल्डोले ला लिगाबाट सिरी ए लिग क्लब युभेन्टस सरुवा भएर पनि व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरेको पक्षलाई पनि अवार्डका लागि हकदार रहने एक कारणका रूपमा उल्लेख गरेको छ । रोनाल्डो अहिले युभेन्टसका लागि १०० गोलको आँकडा नजिक पुगेका छन् भने उनले त्यहाँबाट चार उपाधि पनि जितिसकेका छन् ।

यता, यो अवार्डमा रोनाल्डोले बाजी मार्दा दोस्रो स्थानमा उनकै पूर्वसहकर्मी रियल मड्रिडका स्पेनिस डिफेन्डर सर्जियो रामोस रहेका छन् । रियललाई कीर्तिमानी च्याम्पियन्स लिगको ह्याट्रिक उपाधि जिताउन उनले ठूलो योगदान दिएका थिए । उनीपछि तेस्रो स्थानमा जर्मन क्लब बार्यन म्युनिख तथा जर्मनीका गोलकिपर म्यानुएल निउर रहेका छन् ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार १३:४३
Loading...