कोपा इटालियाको दोस्रो सेमिफाइनलमा आज नापोली र एटलान्टा भिड्दै

काठमाडौं, माघ २१
इटालीको नकआउट क्लब फुटबल कोपा इटालियामा आज दोस्रो सेमिफाइनल खेलमा नापोली र एटलान्टाको रोमाञ्चक खेल हुँदैछ । सेमिको पहिलो लेगको खेल खेल्न नापोलीले एटलान्टालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल नेपाली समयअनुसार आज राति ठीक १ः३० बजेबाट सुरु हुनेछ । गत राति पहिलो सेमिफाइनलमा युभेन्टसले इन्टर मिलानलाई उसकै घरमा १–२ ले हराइसकेको छ । सो टाईबाट अब दोस्रो लेगको खेलपछि फाइनल पुग्ने एक टिमको टुंगो लाग्नेछ ।

दोस्रो सेमिफाइन खेलको पहिलो लेगको खेलमा सिरी ए लिगका दुई बलिया टोलीहरू नापोली र एटलान्टा खेल्दा यो खेल निकै रोमाञ्चक हुने छ । यसअघि अन्तिम आठमा एटलान्टाले लाजियोलाई रोमाञ्चक अवस्थाबाट ३–२ ले हराएर सेमिमा स्थान तय गर्दा नापोलीले स्पेजियालाई ४–२ ले हराएर एटलान्टासँगको भेट तय गरेको थियो ।

नापोली र एटलान्टा हाल सिरी ए लिगको उपाधि होडमै छन् । हाल नापोली पाँचौं स्थानमा छ भने एटलान्टा सातौं स्थानमा छ । यी दुवै लिगका हेभिवेट टोली भएकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । आज आफ्नो मैदानमा खेल्ने हुँदा नापोली बढी दबाबमा हुनेछ । दुवै बलिया टोली भएकाले यो खेल निकै घम्साघम्सीपूर्ण हुने पक्का छ ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार १३:१२
Loading...