बन्यो कीर्तिमान : साउथह्यामपटनको पोस्टमा युनाइटेडले वर्षायो ९ गोल !

काठमाडौं, माघ २१
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कीर्तिमानी फराकिलो जित निकालेको छ । उसले लिगको २२औं साताको खेलमा १२औं स्थानको साउथह्यापटनको पोस्टमा ९ गोलको वर्षा गर्दै ऐतिहासिक जित निकालेको हो । नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा युनाइटेडले ९ खेलाडीमा सीमित पाहुना टोलीको पोस्टमा गोलको वर्षा नै गरिदियो । आजको ९–० को नतिजा प्रिमियर लिगको इतिहासमै सबैभन्दा फराकिलो नतिजा हो । यसअघि युनाइटेडले नै सन् १९९५ मा पनि ९–० को जित निकालेको थियो ।

आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्ड रंगशालामा आगन्तुक साउह्यामपटन खेलको दोस्रो मिनेटमै १० खेलाडीमा झरेको थियो । त्यसपछि ८६औं मिनेटमा दोस्रो खेलाडीले पनि रातो कार्ड पाएका थिए । खेल सुरु भएको १ मिनेट २४ सेकेन्डमै मिडफिल्डर एलेक्स जानकेविट्ज सोझै रातो कार्ड खाएर मैदान छाडेपछि युनाइटेड हाबी भएको थियो ।

घरेलु मैदानमा युनाइटेडले गरेका ९ गोलमध्ये १ गोल आत्मघाती थियो भने एन्थोनी मार्सियालले २ गोल गरे । अन्य ६ गोल ६ जना फरक–फरक खेलाडीले गरे । युनाइटेडले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ५ गोल गरेको थियो । यता, साउथह्यामपटनको १ गोल भने भिएआरले रद्द गरिदिएको थियो ।

प्रकाशित मिति २१ माघ २०७७, बुधबार ०४:०७
Loading...