‘मेस्सीको गोप्य सम्झौता लिक’ गरेको ‘आरोप लागेका’ पूर्वअध्यक्ष बार्टोमेउ बोले

एजेन्सी, माघ २०
स्पेनिस क्लब बार्सिलोना र टोलीका प्रमुख खेलाडी लिओनल मेस्सीबीचको गोप्य सम्झौता लिंक भएको विषयमा पूर्वअध्यक्ष जोसेप मारिया बार्टोमेउले मुख खोलेका छन् । क्लब र खेलाडीबीच भएको गोप्य व्यावसायिक सम्झौता ‘लिक गरेको’ आरोप लागेका बार्टोमेउले यस विषयलाई ठाडै स्वीकार गरेका छन् । २ दिनअघि स्पेनको चर्चित पत्रिका ‘इएल मुन्डो’ले बार्सिलोना र मेस्सीबीच सन् २०१७ को नोभेम्बरमा भएको सम्झौताको बिस्तृत विवरण पत्रिकाले प्रकाशित गरेको थियो, जुन अवैध मानिन्छ ।

प्रकाशित विवरणअनुसार मेस्सीले सन् २०१७ देखि यस सिजनको अन्त्यसम्म अर्थात् आफ्नो सम्झौताभर क्लबमा रहँदा कूल ५५५ मिलियन युरो तलब पाउनेछन्, यदि अन्य सबैखाले सर्तहरू पूरा भएको खण्डमा । क्लब र मेस्सीबीच भएको सम्झौता गोप्य रहनुपर्ने भए पनि त्यो मिडियामा सार्वजनिक भएपछि क्लब र मेस्सी दुवै तनावमा परेका छन् । क्लब बार्सिलोनाले त भोलिपल्टै कडा विज्ञप्ति निकालेर गोप्य कागजात लिक गर्ने र प्रकाशित गर्नेविरुद्ध मुद्दा लड्ने बताइसकेको छ ।

बार्सिलोना र मेस्सीबीचको सम्झौता मिडियामा लिक भएर प्रकाशित भएसँगै क्लब र मेस्सी स्वयं अब ठूलो आर्थिक अपारदर्शीता र कर छलीमा फस्ने खतरा बढेको छ । साथै, यो ठूलो सम्झौताले फुटबलको आर्थिक नियम समेत उल्लंघन गर्ने भएकाले क्लब र खेलाडी दुवै पक्षमाथि अनुसन्धान चल्ने देखिएको छ । क्लबभित्रका यस्ता गोप्य कागजात मिडियामा कसरी लिक भयो ? कसले लिग गरायो ? बार्सिलोनाभित्र अहिले यसको छानबिन चलिरहेको छ ।

बार्सिलोनाको नयाँ नेतृत्वमा आउन लागेका केही व्यक्तिले भने गोप्य कागजात पूर्वअध्यक्ष बार्टोमेउले लिक गराएको आरोप लगाउँदै आएका छन् । केही समयअघि बार्टोमेउले विवाद बढेपछि अध्यक्ष पद छाडेका थिए । क्लब छाड्नुअघि उनी र मेस्सीबीचको सम्बन्ध खराब रहेको थियो । बार्टोमेउकै कारण गत समरमै मेस्सीले क्लब छाड्न चाहेका थिए । तर, बार्टोमेउले मेस्सीलाई जान दिएनन् । अन्ततः त्यसको केही समयपछि बार्टोमेउले बाध्य भएर पद छाडेका थिए ।

अध्यक्ष पद छाड्नुअघि मेस्सीसँग सम्बन्ध राम्रो नरहेको तथा मेस्सीकै कारण आफूले क्लब छाड्नुपर्दाको बदला लिन बार्टोमेउले मेस्सीसँगको गोप्य सम्झौता लिक गराएको आरोप बार्टोमेउमाथि लागिरहेको छ । तर, बार्टोमेउ स्वयंले भने यसलाई अस्वीकार गरेका छन् । एक मिडियासँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले केही मिडियाबाट थाहा पाएँ कि, यसको दोष मलाई दिइएको छ । तर, यो सरासर गलत हो । यसमा मेरो कुनै हात छैन ।’

बार्टोमेउले खेलाडीसँगका गोप्य सम्झौतापत्र र कागजात क्लबका ४–५ जना व्यक्तिको पहुँचमा हुने भन्दै जसले पनि चुहाउन गर्न सक्ने बताए । ‘यस्ता कागजात अति नै संवेदनशील हुन्छन् । यस्ता कागजात बाहिर ल्याउनु कानुनबिपरीत हुन्छ । यसप्रति मेरो ठूलो खेद छ,’ बार्टोमेउले आफ्नो बचाउ गर्दै भनेका छन्, ‘क्लबभित्र खेलाडीसँगका सम्झौता र गोप्य कागजात ४ वा ५ जनासम्म व्यक्तिको पहुँचमा हुन्छ । यदि उनीहरूले चाहे जसले पनि लिक गराउन सक्छन् । यसको उचित छानबिन हुनुपर्छ ।’

प्रकाशित मिति २० माघ २०७७, मंगलवार १०:५९
Loading...