च्याम्पियन्स लिग आउन लाग्दा बार्सिलोनालाई नेइमारको यस्तो सन्देश

काठमाडौं, माघ १९
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले युरोपियन च्याम्पियन्स लिग फुटबलमा पिएसजीको आगामी खेलबारे धारणा राखेका छन् । यसपटक अन्तिम १६ मा पिएसजीले स्पेनिस क्लब बार्सिलोनाको सामना गर्दै छ । यस खेललाई अन्तिम १६ राउन्डै सबैभन्दा ठूलो भिडन्त मानिएको छ । यो युरोपका दुई हेभिवेट टोलीको भिडन्त मात्रै नभएर पिएसजीका नेइमार प्लस केलियन एमबाप्पे भर्सेस बार्सिलोनाका लिओनल मेस्सी प्लस एन्टोनी ग्रीजम्यानबीचको व्यक्तिगत भिडन्तका रूपमा पनि हेरिएको छ ।

गत राति फ्रेन्च लिग वानमा पिएसजी अवे मैदानमा लोरिएन्टसँग ३–२ ले पराजित भयो । सो खेलमा नेइमारले पेनाल्टीमार्फत् २ गोल गरे पनि टिमको हार भने टरेन । खेलपछि नेइमारलाई मिडियाले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको आगामी खेलबारे प्रश्न सोधेका थिए । जसमा नेइमारले सटिक टिप्पणी दिए । उनले पूर्वक्लब बार्सिलोनाविरुद्धको खेल आफ्ना लागि विशेष हुने बताएका छन् । साथै, उनले सो खेलबारे आफूले अहिले नै सोच्न सुरु नगरेको पनि बताए ।

‘नढाँटी भन्दा मैले बार्सिलोनासँगको खेलबारे सोच्न थालिसकेको छैन । किनभने, हामीसँग अझै समय छ । तर, यो खेल दुवै पक्षका लागि विशेष हुनेवाला छ,’ नेइमारले भनेका छन्, ‘व्यक्तिगत रूपमा मेरा लागि यो खेल झनै विशेष हुनेछ । किनभने, स्पेन छाडेपछि म बार्सिलोनाविरुद्ध पहिलोपटक खेल्न गइरहेको छु । यो टिमका रूपमा प्रतिस्पर्धा र व्यक्ति रूपमा भावनाका हिसाबले पनि निकै फरक र महत्त्वपूर्ण हुनेछ । म यो खेलको प्रतीक्षामा छु ।’

नेइमारले सन् २०१७ च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोना र पिएसजीबीचको चर्चित खेल सम्झिाए । त्यसबेला नेइमारकै नायकत्वमा बार्सिलोनाले पिएसजीमाथि पहिलो लेगमा भोगेको ०–४ को नतिजा उल्टाएर दोस्रो लेगमा बहुचर्चित र ऐतिहासिक ६–१ को कमब्याक जित निकालेको थियो । र, पिएसजीलाई सनसनीपूर्ण ढंगले आउट गराएको थियो । सो खेलमा बार्सिलोनाको जितमा नेइमार नै मुख्य नायक थिए । तर, सो वर्ष बार्सिलोना अन्तिम आठबाटै आउट भयो । र, सो सिजन सकिएसँगै नेइमार अप्रत्यासित रूपमा बार्सिलोना छाडेर पिएसजीमा अनुबन्ध भए ।

सन् २०१७ मा बार्सिलोना छाडेयता नेइमारले यसपटक पहिलोपटक पूर्वक्लबको सामना गर्न लागेका छन् । यसकारण पनि यो खेल धेरैका लागि प्रतीक्षाको खेल बन्ने पक्का छ । नेइमारले पनि २०१७ को खेल सम्झिँदै बार्सिलोनालाई घुमाउरो पारामा खास सन्देश दिएका छन् । नेइमारले भनेका छन्– ‘२०१७ मा मैले बार्सिलोनाबाट पिएसजीविरुद्ध खेलेको थिएँ । र, त्यसबेला हामीले दोस्रो लेगमा कल्पनै नगरेको अवस्थामा ६–१ ले जित्यौं । यसपटक म पिएसजीबाट अन्तिम १६ मै बार्सिलोनाविरुद्ध खेल्दै छु । र, यसपटक पनि मेरा लागि यो विशेष हुनेछ । तर, अहिले म छु, हामी शान्त छौं ।’

च्याम्पियन्स लिगमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा आगामी फेब्रुअरी १६ तारिखमा हुनेछ । नेइमारसहितको टोली सो खेलका लागि बार्सिलोना उत्रिनेछ । त्यसपछि रिटन लेग खेल्न पिएसजीले बार्सिलोनालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्नेछ ।

प्रकाशित मिति १९ माघ २०७७, सोमबार २१:३७
Loading...