मेस्सी नम्बर १ मा : रोनाल्डो टप–१० मा पनि छैनन् !

काठमाडौं, माघ १९
स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सी पछिल्ला वर्ष फ्रि किक गोल गर्ने मामिलामा सबैभन्दा अगाडि छन् । आइतबार राति ला लिगामा उनले एथ्लेटिक बिल्बाओविरुद्ध १ दर्शनीय फ्रि किक गोल गरे । उनकै गोलको मदतमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा बिल्बाओलाई २–१ ले हरायो । मेस्सीले गत राति गरेको गोलकै मदतमा क्लब करिअरमा ६५०औं गोलको कोसेढुंगा पनि पूरा गरे ।

बिल्बाओविरुद्ध मेस्सीले फ्रि किकमार्फत् गोल गरेपछि फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’ ले पछिल्ला पाँच सिजनमा युरोपियन टप लिगमा सर्वाधिक फ्रि किक गोल गर्ने खेलाडीको सूची तयार पारेको छ । उसले प्रकाशित गरेको तथ्यांकअनुसार पछिल्ला पाँच सिजनमा युरोपियन टप–५ लिगमा फ्रि किकबाट सोझै धेरै गोल गर्नेमा बार्सिलोनाका मेस्सी १ नम्बरमा छन् । यस अवधिमा उनले युरोपियन टप–५ लिगमा सोझै २१ गोल फ्री किकमार्फत् गरेका छन् ।

पाँच सिजनमा मेस्सीले २१ गोल सोझै फ्रि किकमार्फत् गर्दा दोस्रो स्थानमा रहेका खेलाडीले जम्मा ८ गोल मात्रै गरेका छन्, जुन निकै ठूलो अन्तर हो । मेस्सीपछि इटालियन इन्टर मिलान तथा सर्बियाका अलेक्जान्डर कोलोराभ रहेका छन् । उनीसँगै इंग्लिस क्लब साउथह्यापनटका जेम्स वार्ड प्रोज रहेका छन् । उनीहरू दुवैले मेस्सीकै अवधिमा समान ८–८ गोल फ्रि किकमार्फत् गरेका छन् । चौथो नम्बरमा इटालियन युभेन्टस तथा अर्जेन्टिनाका पाउलो डिबाला छन् । उनले यस अवधिमा कूल ७ गोल सोझै फ्रि किकबाट गरेका छन् ।

यता, इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो भने यस सूचीको टप–१० मा पनि छैनन् । सो अवधिमा रोनाल्डोले जम्मा ५ मात्रै फ्रि किक गोल गरेका छन् । तर, आधुनिक फुटबलमा सक्रिय खेलाडीमध्ये सबैभन्दा धेरै फ्रि किक गोल गर्नेमा भने अझै पनि रोनाल्डो नै १ नम्बरमा छन् । उनले क्लब तथा देशका लागि गरी हालसम्म कूल ५६ गोल सोझै फ्रि किकमार्फत् गरेका छन् । यता, दोस्रो स्थानमा रहेका मेस्सीले सोही अवधिमा क्लब तथा देशका लागि गरी कूल ५४ गोल फ्रि किकमार्फत् गरेका छन् । गत राति बिल्बाओविरुद्धको गोलसँगै कूल संख्या ५४ पुगेको हो । मेस्सी अझै पनि समग्रमा रोनाल्डोभन्दा २ फ्रि किक गोलले पछि नै छन् ।

पछिल्ला पाँच सिजनमा टप–५ लिगमा फ्रि किकमार्फत् सर्वाधिक गोल गर्ने खेलाडीको तथ्यांक यस्तो छ:

प्रकाशित मिति १९ माघ २०७७, सोमबार २०:३०
Loading...