रियल मड्रिडद्वारा ला लिगा एथ्लेटिको मड्रिडलाई जिम्मा !

एजेन्सी, माघ १९
स्पेनिस शीर्ष ला लिगा फुटबलको उापधि होडबाट साबिक च्याम्पियन रियल मड्रिड धेरै टाढा पुगेको छ । दुई दिनअघि लिगको २०औं साताको खेलमा आफ्नै घरेलु मैदानमा लेभान्टेसँग १–२ ले पराजित भएपछि रियल उपाधि होडबाट झनै समस्यामा परेको हो । गत सिजनको उपाधि विजेता रियल यो सिजन सुरुआतबाटै कमजोर स्थितिबाट अघि बढ्दा लिगका २० खेल सकिँदा ऊ लिग लिडर एथ्लेटिको मड्रिडभन्दा १० अंकले पछि परिसकेको छ ।

त्यत्ति मात्रै हैन, हालकै अवस्थामा रियलभन्दा एथ्लेटिकोले एक खेल कम खेलेको छ । यदि बाँकी खेल पनि जिते समान खेलपछि एथ्लेटिकोले रियल मड्रिडलाई स्पष्ट १३ अंकले पछि पार्नेछ, जुन उपाधि होडमा फर्किन रियलका लागि एकदमै कठिन हुनेछ । यो सिजन हालसम्म रियलले २० खेल सकिँदा मात्रै १२ खेल जितेर ४ खेल बराबरी गरेको छ भने ४ खेल हारिसकेको छ । यता, एथ्लेटिकोले भने १९ खेल सकिँदा १६ खेल जितेर २ खेल बराबरी गरेको छ भने मात्रै १ खेल हारेको छ ।

हालको ताजा अवस्थामा एथ्लेटिकोले १९ खेलबाट कूल ५० अंक जोडेर शीर्ष स्थानमा छ । २० खेल खेलेको बार्सिलोना ४० अंकसहित दोस्रो तथा २० नै खेल खेलेको रियल मड्रिड समान ४० अंकसहित तेस्रो स्थानमा छ । बार्सिलोनाले गत राति एथ्लेटिक बिल्बाओलाई हराएपछि उसले गोलअन्तरमा रियल मड्रिडलाई पछि पारेर दोस्रो स्थानमा चढेको हो । यदि एथ्लेटिकोले आफ्ना बाँकी एक खेल पनि जितेको खण्डमा रियल र बार्सिलोना एथ्लेटिकोभन्दा समान १३–१३ अंकले पछि पर्नेछन् ।

हालको अवस्था हेर्दा रियल र बार्सिलोना दुवैका लागि यो सिजनको ला लिगा उपाधि होडमा फर्किन बहुत कठिन देखिएको छ । एथ्लेटिको जसरी र जुन गतिमा अघि बढिरहेको छ, त्यो सजिलै रोकिने छाँट छैन । यदि एथ्लेटिकोले कम्तीमा ४ खेलसम्म नहार्दासम्म रियल र बार्सिलोनाको उपाधि होड खुला हुँदैन । एथ्लेटिकोले ४ खेल हारिदिए मात्रै पुग्दैन, बार्सिलोना र रियलले आ–आफ्ना हरेक खेल जित्दै पनि जानुपर्छ । तर, यो सिजन खराब लयबाट गुज्रिरहेका बार्सिलोना र रियल दुवैका लागि यो पर्खाइ पीडादायी हुने देखिन्छ ।

लिगका खेल्न बाँकी खेल र हालको अंक तालिकालाई हेर्ने हो भने उपाधि होड अब रियल र बार्सिलोनाको हातमा छैन, पूर्ण रूपमा एथ्लेटिकोका बाँकी खेल र उसका सम्भावित हारमा निर्भर छ । एथ्लेटिकोले केही खेल नहार्दासम्म रियल र बार्सिलोना दुवै उपाधि होडमा रहनेछैनन् । अहिले एथ्लेटिको शीर्ष स्थानमा अग्रता बढाइरहेकोे छ भने रियल र बार्सिलोना भने दोस्रो स्थानमा को रहने भन्ने प्रतिस्पर्धामा देखिन्छन् ।

त्यसो त लिगमा अझै एथ्लेटिकोले बार्सिलोना, रियल मड्रिड, सेभिल्लाजस्ता लिगका ठूला टोलीसँग खेल्न बाँकी नै रहेकाले यी खेलको नतिजा जे पनि हुन सक्छ । यदि बार्सिलोना र रियल दुवैले आ–आफ्ना खेलमा एथ्लेटिकोलाई हराउन सके र एथ्लेटिको थप २ खेल हारे वा केही खेल बराबरीमा रोकिए अंकगणितीय रूपमा ला लिगामा उपाधि होड खुला हुनेछ ।

प्रकाशित मिति १९ माघ २०७७, सोमबार १८:४९
Loading...