६५० गोलको कोसेढुंगापछि कोम्यानद्वारा मेस्सीको उच्च प्रशंसा

काठमाडौं, माघ १९
स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना प्रमुख खेलाडी लिओनल मेस्सीकोे तारिफ गरेका छन् । गत राति ला लिगामा एथ्लेटिक बिल्बाओलाई हराएपछि ‘बार्सा टिभी’सँग कुरा गर्दै डच कोचले मेस्सीको प्रदर्शनको तारिफ गर्दै ६५० गोलका लागि बधाई समेत दिए । गत राति मेस्सीले बिल्बाओविरुद्ध एक दर्शनीय फ्रि किक गोल गरेका थिए । सो गोलको मदतमा मेस्सीले क्लब करिअरमा सबैखाले प्रतियोगितामा ६५०औं गोल समेत पूरा गरे ।

मेस्सीकै प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले क्याम्प नोउ रंगशालामा २–१ को जित निकाल्दै यो सिजन पहिलोपटक लिगको दोस्रो स्थानमा पनि चढ्यो । बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा चढेको हो । जारी सिजन मेस्सीले ला लिगामा कूल १२ गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । उनीभन्दा अघि पूर्वखेलाडी एथ्लेटिको मड्रिडका लुइस स्वारेज १४ गोलसहित सबैभन्दा अगाडि छन् ।

‘सबैभन्दा पहिला त म लियोलाई ६५० गोलका लागि बधाई दिन चाहन्छु । आज उनले धेरै राम्रो खेले । खेलभरि टिमलाई सम्हाल्न र दिशा दिन उनले महत्त्वपूर्ण ढंगले सघाए,’ खेलपछि कोम्यानले भने, ‘उनी हाम्रा लागि सधैं महत्त्वपूर्ण खेलाडी हुन् । उनी हुँदा टिमसँग खास भिजन र दिशा हुन्छ । हरेक खेलाडीसँग आत्मविश्वास र जितको लक्ष्य हुन्छ । उनी टिममा छैनन् भने टिमसँग आवश्यक धेरै कुरा हुँदैनन् । यसमा कुनै शंका छैन, उनी अझै हाम्रा लागि विशेष छन् ।’

कोम्यानले थुप्रै वर्षदेखि मेस्सीले आफ्नो गुणस्तर मैदानमा देखाउँदै आएको पनि बताएका छन् । मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी रहेको पनि उनले उल्लेख गरेका छन् । ‘मेस्सीले थुप्रै वर्षदेखि एक महान् खेलाडीको स्तरबाट आफ्नो गुणस्तरीय खेल देखाउँदै आएका छन् । उनले आफ्नो क्लबलाई एक ठूलो क्लब बनाउन मात्रै नभएर थुप्रै उपाधि जित्नका लागि योग्य टिम पनि बनाउन योगदान दिएका छन् । उनी कस्ता खेलाडी हुन्, उनको तथ्यांकले नै बताउँछ ।’

बिल्बाओलाई जितेर लिगको दोस्रो स्थानमा चढेपछि आफूहरू एक कदम अघि बढेको कोम्यानले बताएका छन् । तर, आगामी यात्रा सहज नरहेको पनि उनले बताए । ‘आजको जित र दोस्रो स्थानको सुधार हाम्रा लागि एक महत्त्वपूर्ण नतिजा हो, यसबाट हामी खुसी छौं । तर, अबको यात्रा सजिलो छैन । हामी अझै धेरै पछि छौं । तैपनि, हामीले लगातार जितेर अघि बढ्न प्रयास गर्नुपर्छ । हामी अन्तिमसम्म नै लिगमा उपाधि होडमा फर्किन प्रयास गर्नेछौं,’ कोम्यानले भने ।

प्रकाशित मिति १९ माघ २०७७, सोमबार १७:५४
Loading...