धेरै कुरा बदलिए, अब म पिएसजीमै खुसी छु : नेइमार

एजेन्सी, माघ १९
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले आफ्नो भविष्यबारे धारणा राखेका छन् । गत राति लिग वानमा पिएसजी लोरिएन्टसँग ३–२ ले पराजित भएपछि नेइमारले मिडियासँग प्रतिक्रिया दिए । सो खेलमा नेइमारले २ पेनाल्टी गोल गरे पनि टिम हारबाट बच्न भने सकेन । खेलपछि कुरा गर्दैै नेइमारले आफू अहिले पिएसजीमै खुसी रहेको भन्दै क्लबमा अहिले धेरै कुरा बदलिएको धारणा राखेका छन् ।

‘यहाँ अहिले धेरै कुरा बदलिएका छन् । अहिले म निकै खुसी छु । पहिला केही कठिनाइहरू थिए । तर, अहिले त्यस्तो छैन । सबै कुरा ठीक छन् । र, म यहीं रहन चाहन्छु,’ नेइमारले भनेका छन्, ‘म यहाँ रहनुको अर्थ टिमलाई अझै धेरै उपाधि जित्न सघाउन चाहन्छु । म सधैं पिएसजीका समर्थकहरूलाई राम्रा दिनको खुसी दिन चाहन्छु । र, हामी टिमका रूपमा पनि यही चाहन्छौं ।’

आफ्नो भविष्यबारे नेइमार अघि थप बोलेका छन्, ‘मेरो भविष्यको बारेमा बाहिर धेरै चर्चा छन् । त्यसबारे मेलाई केही भन्नु छैन । म यहाँ खास लक्ष्य र उद्देश्यका साथ आएको थिएँ । पिएसजीबाट म च्याम्पियन्स लिग जित्न चाहन्छु । अहिलेको मेरो लक्ष्य भनेको यो पूरा गर्नु नै हो । मैले मेरो भविष्य यहीं ठाउँमा केन्द्रित गरेको छु । मैले अघि नै भनें नि, अहिले म यहाँ एकदमै खुसी छु । मलाई टिमले सघाइरहेको छ । म टिमलाई सघाइरहेको छु ।’

नेइमारले आफूसँगै युवा स्टार सहकर्मी केलिएन एमबाप्पे पनि पिएसजीमै रहनेमा विश्वास व्यक्त गरेका छन् । यो सिजनको अन्त्यपछि एमबाप्पेलाई स्पेनिस क्लब रियल मड्रिडले भित्र्याउने चर्चा छ । ‘पिएसजी छाड्ने मेरो कुनै योजना र सोच छैन । अहिले म नयाँ क्लबमा जानेभन्दा पनि यहाँ रहेर जित्नेमा ध्यान छ । म अझै थुप्रै वर्ष यहाँ रहनेछु । आशा छ, केलियन एमबाप्पे पनि यहीं रहनेछन् । आजसम्म उनले मलाई क्लब छाड्ने विषयमा केही बताएका छैनन् । हामी सँगै हुनेछौं,’ नेइमारले भने ।

यो सिजनको अन्त्यपछि स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी पिएसजीमा अनुबन्ध हुने चर्चा अहिले बढेको छ । बार्सिलोनामा सम्झौता सकिन लागेका ३४ वर्षीय मेस्सीलाई फ्री ट्रान्सफरमा भित्र्याउन पिएसजी लागेको छ । पूर्वसहकर्मी मेस्सी पिएसजी आउन सक्ने सम्भावना रहेकाले पनि नेइमार तत्कालै पिएसजीको विकल्प खोज्न तयार देखिँदैनन् । केही समयअघि उनले एक अन्तर्वार्तामा कुरा गर्दै आगामी समरमा मेस्सी र आफू एकै टोलीमा हुने बताएका थिए ।

प्रकाशित मिति १९ माघ २०७७, सोमबार १६:२१
Loading...