कीर्तिमानी मेस्सी : पूरा गरे नयाँ कोसेढुंगा

काठमाडौं, माघ १९
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी अब ६५० गोल क्लबमा उक्लिएका छन् । गत राति ला लिगामा उनले १ गोल गर्दै क्लब फुटबलमा ६५० गोलको आँकडा पूरा गरेका हुन् । गत राति ला लिगाको २०औं साताको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदा मेस्सीले १ शानदार फ्रि किक गोल गरेका थिए ।

मेस्सीले खेलको २०औं मिनेटमा फ्रि किकमार्फत् निकै शानदार गोल गरेका थिए । उनको सो गोल बार्सिलोना करिअरका सबैखाले प्रतियोगिताबाट ६५०औं गोल थियो । सन् २००४ देखि बार्सिलोनामा खेल्दै आएका मेस्सी अब ६५० क्लब गोल गर्ने खेलाडीको सूचीमा चढेका छन् । मेस्सीले क्लब करिअरमा ६५० गोल गर्न कूल ७५५ खेल खेलेका छन् । उनले सिनियर टोलीमा सिजन २००४–०५ भरिमा ९ खेलबाट मात्रै १ गोल गरेका थिए । आज १७ वर्षपछि ७५५ खेल खेलिसक्दा उनका नाममा ६५० गोल भएको छ ।

क्लब फुटबलमा ६५० गोल वा सोभन्दा बढी गर्ने थोरै मात्र खेलाडीको सूचीमा अब मेस्सी पनि दर्ज भएका छन् । मेस्सीभन्दा अघि क्लब फुटबलमा ६५० गोल गर्नेमा ब्राजिलका लिजेन्ड पेलेदखि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । जारी सिजन मेस्सीले ला लिगामा कूल १२ गोल गरेका छन् । मेस्सीले सबैखाले प्रतियोगितामा कूल २५ खेल खेल्दै १५ गोल गरेका छन् । हालसम्म क्लब फुटबलमा ६५० गोल गर्ने खेलाडीको सूची यस्तो छ–

पेले – ६८० गोल
रोमारियोे – ६७३ गोल
जोसेफ बिकान – ६६३ गोल
क्रिस्टियानो रोनाल्डो – ६५८
लिओनल मेस्सी – ६५० गोल

प्रकाशित मिति १९ माघ २०७७, सोमबार १०:११
Loading...