बिल्बाओलाई हराउँदै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा चढ्यो

काठमाडौं, माघ १९
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जारी सिजन पहिलोपटक लिगको दोस्रो स्थानमा चढेको छ । लिगको २०औं साताको खेलमा एथ्लेटिक बिल्बाओलाई आफ्नो घरेलु मैदानमा २–१ ले हराउँदै बार्सिलोनाले अंक तालिकामा सुधार गरेको हो । यो सिजन क्याटलान क्लब पहिलोपटक टप–२ मा पुगेको हो । नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा बार्सिलोनालाई घरेलु मैदानमा जिताउन कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रीजम्यानले १–१ गोल गरे ।

क्याम्प नोउ रंगशालामा पहिलो हाफमा बार्सिलोनाले १–० को अग्रता बनाएको थियो । आफ्नो मैदानमा सुरुआतबाटै आक्रामक खेल खेलेको बार्सिलोनाका लागि २०औं मिनेटमा मेस्सीले फ्रि किकमार्फत् गोल गरे । बक्सभन्दा केही बाहिरबाट मेस्सीले हानेको प्रहारले माथिल्लो बार च्यापेर सोझै जाली चुमेको थियो । जारी सिजन मेस्सीको यो १२औं लिग गोल हो ।

त्यसपछि दोस्रो हाफ सुरु भएको ४ मिनेटमै पाहुना टोली बिल्बाओ खेलमा फर्किएको थियो । ४९औं मिनेटमा बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १–१ मा आयो । गोल खाएपछि बार्सिलोना दबाबमा परेको थियो । तर, फ्रेन्च फरवार्ड ग्रीजम्यानले टिमका लागि विजयी गोल गरे । खेलको ७४औं मिनेटमा उनले युवा डिफेन्डर मिङ्गुएजाको क्रसमा अफसाइड ट्रापमा गोल गरेका थिए । सो गोलपछि खेलमा थप गोल भएन । र, खेल बार्सिलोनाले २–१ ले जित्यो ।

अब यो जितपछि बार्सिलोनाले २० खेलबाट कूल ४० अंक जोडेको छ । रियल मड्रिडसँग समान २० खेलपछि समान ४०–४० अंक भए पनि गोलअन्तरमा बार्सिलोना अघि छ । बार्सिलोनाले रियल मड्रिडको दोस्रो स्थान ओगटेको हो । रियल मड्रिड आफ्नो २०औं खेलमा पराजित हुँदा बार्सिलोनाले दोस्रोमा चढ्ने मौका पायो । यता, बार्सिलोनासँग पराजित बिल्बाओ २० खेलपछि २४ अंक बनाएर ११औं स्थानमा छ ।

प्रकाशित मिति १९ माघ २०७७, सोमबार ०३:३५
Loading...