लिभरपुलको जितमा चम्किए सालाह : तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ १८
इंग्लिस प्रिमियर लिग फुटबलको साबिक च्याम्पियन टोली लिभरपुलले अर्को महत्त्वपूर्ण जित निकालेको छ । आइतबार राति लिगको २१औं साताको खेलमा टप–५ टोली वेस्ट ह्यामलाई उसकै घरेलु मैदानमा १–३ ले हराउँदै लिभरपुल उपाधिको होडमा फर्किएको हो । यसअघि लिभरपुलले टोटनह्यामलाई १–३ ले हराएको थियो । त्यसअघि लगातार ५ खेलसम्म जितविहीन थियो भने ५ मध्ये २ खेल हारेको थियो । जसका कारण उपाधि होडमा उसलाई ठूलो झट्का लागेको थियो । तर, पछिल्ला दुई जितले जोर्गेन क्लोपको टिमलाई राहत मिलेको छ ।

वेस्ट ह्यामको घरमा लिभरपुललाई जिताउन स्टार फरवार्ड मोहमद सलाह नायक बने । टिमका लागि सुरुआती २ गोल सालाहले नै गरेका थिए । पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै पक्षबाट कुनै गोल भएन । तर, दोेस्रो हाफमा पाहुना टोली लिभरपुलले गोलको खडेरी तोड्दै ३ गोल निकाल्यो । ५७औं मिनेटमा सालाहले जोनेसको पासमा निकै शानदार गोल गरेर टिमलाई अग्रता दिए । उनले वेस्ट ह्यामको पोस्टभित्र ४ जना डिफेन्डरलाई छलाउँदै निकै कलात्मक गोल हानेका थिए ।

त्यसपछि खेलको ६८औं मिनेटमा सालाहले नै व्यक्तिगत दोस्रो गोल गरे । वेस्ट ह्यामले लिभरपुलको पोस्टमा कर्नरबाट प्रहार गरेको बल फुत्काएर लिभरपुलले द्रुत अट्याकमा उत्कृष्ट गोल हान्यो । वल्लो छेउबाट अर्नोल्डले दिएको लामो पास शाकिरीले नियन्त्रणमा लिएर बक्समा दिएको पासमा सालाहले फ्लिक गर्दै सहजै गोल गरेर खेल ०–२ बनाए । त्यसपछि खेलको ८४औं मिनेटमा फर्मिन्होको पासमा जर्जिनियो विज्नाल्डुमले गोल गरेपछि लिभरपुल ०–३ मा पुग्यो । तर, खेलको ८७औं मिनेटमा वेस्ट ह्यामका लागि क्राइग डावसनले गोल गरेपछि लिभरपुलको जित १–३ मा खुम्चियो ।

अब यो जितपछि लिभरपुलले लिगका २१ खेलबाट कूल ४० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । तर, लिभरपुल अझै पनि एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा ४ अंकले र सामान खेल खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १ अंकले पछि नै छ । यता, पराजित वेस्ट ह्याम अझै पनि २१ खेलपछि ३५ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रकाशित मिति १९ माघ २०७७, सोमबार ००:२३
Loading...