यात्रा उपाधितर्फ : एथ्लेटिको मड्रिडको जितमा चम्किए स्वारेज

काठमाडौं, माघ १८
स्पेनिस ला लिगा फुटबलमा यो सिजन उत्कृष्ट प्रदर्शनका साथ उपाधिमा प्रमुख दाबेदारी दिइरहेको एथ्लेटिको मड्रिडले अर्को महत्त्वपूर्ण जित निकालेको छ । आज आइतबार राति भएको लिगको १९औं साताको खेलमा एथ्लेटिकोले क्याडिजलाई उसकै घरेलु मैदानमा २–४ ले स्तब्ध बनायो । पाहुना टोली एथ्लेटिकोको जितमा अघिल्लो दिन मात्रै ३४औं जन्मदिन मनाएका उरुग्वेन फरवार्ड लुइस स्वारेजले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे । उनले एक शानदार फ्रि किक गोल गर्दा दोस्रो पेनाल्टी गोल गरेका थिए ।

एथ्लेटिकोका लागि खेलको २८औं मिनेटमा स्वारेजले लामो दूरीबाट शक्तिशाली फ्रि किक प्रहारमा सोझै गोल गरेका थिए । उनको बुलेट सटले गोलकिपरलाई कुनै मौका नदिई जाली चुमेको थियो । त्यसपछि घरेलु टोली क्याडिजका लागि ३५औं मिनेटमा अल्भारो नेगरेडोले गोल गरेर खेल १–१ बनाएका थिए । तर, ४४औं मिनेटमा साउलले अपत्यारिलो गोल गरेर पहिलो हाफमा टिमलाई १–२ को अग्रता दिलाए । तर, दोस्रो हाफमा घरेलु टोलीले पोस्ट जोगाउन सकेन ।

खेलको ५०औं मिनेटमा स्वारेजले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई जिततर्फ अघि बढाएका थिए । त्यसपछि ७१औं मिनेटमा क्याडिजका लागि अल्भारोले नै व्यक्तिगत दोस्रो गोल गरेर खेल २–३ मा ल्याएका थिए । तर, ८८औं मिनेटमा एथ्लेटिकोका लागि कोकेले गोल गरेपछि क्याडिजको कमब्याक प्रयास असफल भयो । र, खेल एथ्लेटिकोले २–४ ले जित्यो ।

अब यो जितपछि एथ्लेटिकोले १९ खेलबाट कूल ५० अंक बनाएको छ । उसले यो सिजन १९ खेल सकिँदा मात्रै १ खेल हारेर २ खेल बराबरी गर्दा १६ खेल जितेको छ । अब एथ्लेटिकोले एक खेल बढी खेलेको दोस्रो स्थानको रियल मड्रिडलाई १० र समान १९ खेल खेलेको चौथो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पारेको छ । तर, बार्सिलोनाले आजै राति आफ्नो खेलमा एथ्लेटिक बिल्बाओलाई हराए दोस्रो स्थानमा उक्लिनेछ । र, एथ्लेटिकोसँगको दूरी १० मा झर्नेछ ।

प्रकाशित मिति १८ माघ २०७७, आईतवार २३:०२
Loading...