सिरी ए लिगमा लाजियोद्वारा एटलान्टाको धुलाइ : लियो कोपाको बदला

काठमाडौं, माघ १८
इटालियन सिरी ए लिग फुटबलमा लिगका दुई बलिया टोलीहरू एटलान्टा र लाजियोको भिडन्तमा लाजियोले उत्कृष्ट जित हात पारेको छ । आज आइतबार राति भएको लिगको २०औं साताको खेलमा लाजियोले एटलान्टालाई उसकै घरेलु मैदानमा १–३ को नमिठो हार खुवायो । यससँगै लाजियोले एटालन्टासँग गत बुधबार कोपा इटालियाको क्वार्टरफाइनलमा भोगेको हारको बदला समेत लिएको छ । सो खेलमा १० खेलाडीमा सीमित एटलान्टाले लाजियोलाई ३–२ ले हराउँदै प्रतियोगिताबाट आउट गराएको थियो ।

एटलान्टाको घरेलु मैदानमा लाजियोले खेलभरि नै उत्कृष्ट प्रदर्शन गरेको थियो । उसका लागि खेल सुरु भएको तेस्रो मिनेटमै अडाम मार्कुसिचले गोल गरेर घरेलु टोलीलाई झट्का दिएका थिए । त्यसपछि ५१औं मिनेटमा जोआक्विन कोरेरियाले गोल गरेर खेल ०–२ बनाए । त्यसपछि ७९औं मिनेटमा एटलान्टाका मारियो पासालिचले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ८२औं मिनेटमा भेडाट माक्र्विीले गोल गरेपछि खेल लाजियोले १–३ ले जित्यो ।

अब यो जितपछि लाजियोले २० खेलबाट ३७ अंक बनाएर पाँचौं स्थानमा उक्लिएको छ । पराजित एटलान्टा भने समान खेलपछि ३६ अंकसहित छैटौं स्थानमा रहेको छ । लाजियोले लिगका पछिल्ला ५ खेल सबैमा स्पष्ट जित निकालेको छ ।

प्रकाशित मिति १८ माघ २०७७, आईतवार २२:४१
Loading...