रेलिगेसनको टिमले पिएसजीलाई हरायो : काम लागेन नेइमारको २ गोल

काठमाडौं, माघ १८
फेन्च लिग वान फुटबलमा यो सिजन कमजोर अवस्थाबाट अघि बढिरहेको पिएसजीले सिजनको पाँचौं पराजय भोगेको छ । आज आइतबार राति भएको लिगको २२औं साताको खेलमा पिएसजीलाई रेलिगेसन जोनको लोरिएन्टले आफ्नो घरेलु मैदानमा ३–२ ले स्तब्ध बनायो । तुलनात्मक रूपमा निकै कमजोर टोलीविरुद्ध ब्राजिलियन स्टार नेइमारले २ पेनाल्टी गोल गरे पनि त्यसको कुनै अर्थ रहेन ।

पिएसजीले खेलमा लिड गरिरहेका बेला अन्तिम ११ मिनेटमा २ गोल खाएपछि हार भोग्नु परेको हो । घरेलु टोली लोरिएन्टले ३६औं मिनेटमा लौरेन्ट अवेरगलको गोलबाट अग्रता लिएको थियो । त्यसपछि नेइमारले ४५औं मिनेटमा पेनाल्टी गोल गरेर पहिलो हाफमा खेल १–१ बनाए । त्यसपछि दोस्रो हाफमा पिएजीले पहिला अग्रता बनायो । ५८औं मिनेटमा नेइमारले दोस्रो गोल पेनाल्टीमार्फत् नै गरेपछि पिएसजी जिततर्फ अघि बढेको थियो ।

तर, अन्तिम ११ मिनेट पिएसजी सम्हालिन सकेन । र, लगालग २ गोल खायो । ८०औं मिनेटमा लोरिएन्टका युआने विसाले गोल गरेर खेल २–२ बनाए । खेल बराबरी नजिक पुगेको थियो । तर, ९० मिनेटपछि थपिएको समयको पहिलो मिनेटमै टेरेम मोफीले गोल गरेपछि खेल लोरिएन्टले ३–२ ले जित्यो भने पिएसजी हारको मुखमै पुगेर निराश बन्यो । अब यो हारपछि पिएसजी २२ खेलपछि ४५ अंक बनाएर तेस्रो स्थानमै सीमित भएको छ । विजयी लोरिएन्ट २१ खेलपछि १८ अंक बनाएर १८औं स्थानमा चढेको छ ।

प्रकाशित मिति १८ माघ २०७७, आईतवार २२:२३
Loading...