‘आश्चार्य चकित पार्ने’ बार्सिलोना र मेस्सीबीचको गोप्य सम्झौता कसरी ‘लिक’ भयो ?

एजेन्सी, माघ १८
स्पेनिस फुटबल क्लब बार्सिलोना र प्रमुख खेलाडी लिओनल मेस्सीबीचको गोप्य सम्झौतापत्र लिक भएको छ । र, यसले फुटबल दुनियाँलाई झस्का दिएको छ । स्पेनिस मिडियाका अनुसार मेस्सी स्वयंले यसविरुद्ध कानुनी कदम चाल्ने तयारी गरेका छन् भने क्लब बार्सिलोनाले त आज नै अफिसियल रूपमा प्रेस विज्ञप्ति जारी गरेर कडा आपत्ति जनाउँदै मुद्दा लड्ने बताइसकेको छ ।

तर, यदि लिक भएको सम्झौतापत्र सही साबित भए क्लब बार्सिलोना र मेस्सी दुवै ठूलो कानुनी झमेलामा फस्ने निश्चित छ । त्यसबेला यो फुटबल इतिहासमै एक चर्चित ‘आर्थिक अपारदर्शीता’ र ‘कर छली’को प्रकरण पनि बन्न सक्नेछ । तर, सुरुआती चरणमा बार्सिलोनाले यस्तो रिपोर्टको ठाडै अस्वीकार गरेर मिडियाविरुद्ध मुद्दा हाल्ने तयारी थालेको छ ।

एकदिन अघि स्पेनको चर्चित पत्रिका ‘इएल मुन्डो’ ले मेस्सी र बार्सिलोनाबीच सन् २०१७ को नोभेम्बर मा भएको सम्झौताका आधारमा मेस्सीले क्लबबाट कति सेवा सुविधा पाउँछन् भन्ने कुराको बिस्तृत (ब्रेक डाउन) तथ्यांक नै राखेर रिपोर्ट प्रकाशित गरेको थियो । उसले आफ्नो रिपोर्टमा यो दाबी गरेको छ कि, क्लब र मेस्सीले बाहिर देखाउन एउटा सम्झौता र आर्थिक दायरा देखाको तर भित्र त्योभन्दा ठूलो व्यावसायिक सम्झौता भएको थियो । जसअनुसार मेस्सीले बार्सिलोनाबाट सबैखाले गरी हरेक वर्ष १३८ मिलियन युरो रकम बुझ्दै आएका थिए । यदि यो साँचो भए यो अंक फुटबल मात्रै नभएर खेलकुद इतिहासकै सर्वाधिक ठूलो अंक हुन्छ ।

मेस्सी र बार्सिलोनाबीच अन्तिमपटक सन् २०१७ को नोभेम्बर महिनामा सम्झौता भएको थियो । र, सो सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । रिपोर्ट छाप्ने ‘इएल मुन्डो’ का अनुसार सो सम्झौता भएको मितिबाट यो सिजनको अन्त्यसम्म मेस्सीले बार्सिलोनाबाट (सबैखाले बोनस सर्त र अन्य सर्तहरू पूरा भएको खण्डमा) कूल ५५५ मिलियन युरो रकम पाउने गरी सहमति भएको थियो । र, मेस्सीले त्यसैअनुसार रकम बुझ्दै आएका थिए । यसअनुसार हेर्दा मेस्सीले सिधासिधी हरेक सिजन १३८ मिलियन युरो रकम बार्सिलोनाबाट लिने गरेको वा लिन सक्ने सम्झौताले सार्वजनिक कागजातले देखाउँछ ।

सो मिडियाले बार्सिलोना क्लबभित्रको ‘गोप्य स्रोत’ को हवाला दिँदै मेस्सी र क्लबबीच भएको अविश्वसनीय व्यावसायिक सम्झौताको बिस्तृत रिपोर्ट छापेको छ । तर, बार्सिलोनाले प्रेस विज्ञप्ति निकालेर यस्तो रिपोर्टको ठाडै खण्डन गरेको छ । त्यत्ति मात्रै हैन, बार्सिलोनाले ‘इएल मुन्डो’ले खलाडी र क्लबीच भएको गोप्य सम्झौतापत्रहरू सही वा गलत जे भए पनि प्रकाशन गर्न नपाउने र गरे त्यसको मूल्य चुकाउनुपर्ने भन्दै कडा चेतावनी दिएको छ ।

बार्सिलोनाले प्रेस विज्ञप्ति निकालेर भनेको छ– ‘बार्सिलोना इएल मुन्डोमा प्रकाशित यस संस्थासँग सम्बन्धित कागजातको कनै जिम्मेवारी लिन तयार छैन । र, यसको ठाडै अस्वीकार गर्दछ । यो कागजात प्रकाशनको परिणामस्वरुरूप हुन सक्ने क्षतिका लागि क्लबले पत्रिकाविरुद्ध कडाभन्दा कडा कानुनी कदम चाल्नेछ ।’

बार्सिलोनाले अघि भनेको छ– ‘यस्ता कागजात क्लब र खेलाडीबीचका निजी हुन्छन् । यो गोपनियताको सिद्धान्तअनुसार चल्दछ । यस्ता कागजात सार्वजनिक गर्न वा प्रकाशन गर्नु सम्झौताबिपरीत हुन्छ ।’

स्पेनका अन्य मिडियाले भने यदि ‘इएल मुन्डो’ले छापेको रिपोर्ट सत्य साबित भए यसले ठूलो आर्थिक अपारदर्शीतालाई उजागार गर्नेछ । पत्रिकाले छापेको रिपोर्टमा बार्सिलोनाले मुद्दा हालेर जितेको खण्डमा पत्रिकामाथि कानुनी कारबाही हुनेछ र आर्थिक जरिमाना पनि हुने । तर, यदि सो रिपोर्ट सही साबित भए मेस्सी र बार्सिलोनामाथि आर्थिक अपारदर्शीताका साथै र कर छलीमा मुद्दा चल्न सक्नेछ ।

यता, ‘मार्का’मा प्रकाशित खबरअनुसार बार्सिलोनाले मेस्सीसँगको सम्झौता मिडियामा प्रकाशित भएको विषयमा र कागजात लिंक भएको भन्ने विषयमा क्लबभित्रै छानबिन थालेको छ । क्लबभित्रबाटै कागजात लिक भएको आशंकामा बार्सिलोनाले ३ जना अधिकारीमाथि छानबिन थालेको जनाइएको छ ।

प्रकाशित मिति १८ माघ २०७७, आईतवार २१:५०
Loading...