पिर्लोद्वारा ‘लय गुमाएका’ रोनाल्डोको बचाउ : आलोचकहरूलाई दिए जवाफ

एजेन्सी, माघ १८
इटालियन क्लब युभेन्टसका प्रमुख प्रशिक्षक आन्ड्रेया पिर्लोले आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको बचाउ गरेका छन् । पछिल्लो समय सिरी ए लिगमा लगातार गोलविहीन बनेपछि रोनाल्डोको आलोचना हुन थालेको छ । रोनाल्डोले पछिल्ला ४ खेलमा १ गोल पनि गर्न सकेका छैनन् । गत राति युभेन्टसले साम्पडोरियालाई २–० ले हराउँदा रोनाल्डो गोलविहीन बनेका थिए । त्यसअघि पनि उनले लगातार ३ खेलमा गोल गरेका थिएनन् ।

गत राति साम्डोरियाविरुद्ध रोनाल्डोले तीनपटक गोलका अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । तर, टोलीका २ वटै गोलमा उनले अवसर सिर्जना गरेका थिए । लगातार चौथो खेलमा गोलविहीन बनेपछि खेलपछि मिडियाले प्रशिक्षकसँग रोनाल्डोको गुमेको लयबारे प्रश्न गरे । सोक्रममा पिर्लोले रोनाल्डोले लिगका खेलमा गोल गर्न नसकिरहे पनि अन्य खेलमा गोल गरिरहेको र लिगमा पनि टिमलाई सघाइरहेको भन्दै बचाउ गरे ।

‘क्रिस्टियानो लयमा छैनन् भन्ने मलाई लाग्दैन । उनले लिग खेलमा गोल नगरेको ४ खेल भयो । तर, उनले गोलका लागि टिमलाई अवसर सिर्जना गरिरहेका छन् । अन्य खेलमा उनले गोल गरिरहेका छन्,’ पिर्लोले भने, ‘कसैले पनि हरेक खेलमा उच्च लयमा खेल्न र गोल गर्न सक्दैन । कहिलेकाहीं यस्तो समय पनि आउँछ । मलाई कुनै चिन्ता छैन । उनले आगामी खेलमा प्रशस्तै गोल गर्नेछन् । मलाई लाग्दैन, क्रिस्टियानो वा हामी नै चिन्तित हुनुपर्छ । किनभने, उनले गोल नगरे पनि टिमले राम्रो गरिरहेको छ ।’

आलोचकप्रति इंगित गर्दै पिर्लोले अघि थपे, ‘तपाईं कसरी भन्नुहुन्छ उनले गोल गरेका छैनन् । म तपाईंलाई सम्झाउन चाहन्छु कि, उनी अहिले पनि लिगका सर्वाधिक गोलकर्ता हुन् । र, उनले अहिले नै २० गोल गरिसकेका छन् । फ्यानहरूले अझै धेरै अपेक्षा राख्नु गलत होइन । तर, उनले पर्याप्त गरिरहेका छन् । तपाईंहरू पर्खनुहोस् र हेर्नुहोस्– उनले अझै थुप्रै गोलहरू गर्नेछन् । उनीमाथि कहिल्यै शंका नगर्नुहोस् ।’

जारी सिजन रोनाल्डोले सबैखाले प्रतियोगितामा २१ खेलबाट कूल २० गोल र ५ असिस्ट गरेका छन् । उनले सिरी ए लिगमा १६ खेलबाट १५ गोल र २ असिस्ट गरेका छन् भने बाँकी गोल अन्य प्रतियोगितामा गरेका छन् । उनी अहिले पनि सिरी ए लिगका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । यो सिजन उनले च्याम्पियन्स लिगमा ४ खेलबाट ४ गोल गरेका छन् । केही दिनअघि उनले सुपर कपको फाइनलमा पनि गोल गरेर टिमलाई च्याम्पियन बनाउन सघाएका थिए ।

प्रकाशित मिति १८ माघ २०७७, आईतवार १९:२१
Loading...