अर्थुर बने रोनाल्डोको कीर्तिमानी असिस्ट पाउने ८०औं खेलाडी

एजेन्सी, माघ २४
फुटबल इतिहासमा आजसम्म सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडीको रेकर्ड स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीका नाममा छ । उनले आफ्नो करिअर दौरान क्लब तथा देशका लागि गरी ३०० भन्दा बढी असिस्ट गरिसकेका छन् । तर, फुटबल इतिहासमा सबैभन्दा धेरै फरक–फरक खेलाडीलाई असिस्ट दिने खेलाडीको रेकर्ड भने इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा बनेको छ । यस मामिलामा रोनाल्डोभन्दा मेस्सी भने पछि छन् ।

रोनाल्डोले आजसम्म विभिन्न ८० जना फरक–फरक खेलाडीलाई सोझै असिस्ट दिएका छन्, जुन इतिहासकै सबैभन्दा बढी हो । र, रोनाल्डोको कीर्तिमानी असिस्ट पाउने ८०औं भाग्यमानी खेलाडी भने ब्राजिलियन मिडफिल्डर अर्थुर बनेका छन् । गत समर सिजनमा स्पेनिस बार्सिलोना छाडेर युभेन्टस पुगेका उनी अहिले रोनाल्डोका सहकर्मी हुन् ।

फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘ओप्टा’ले प्रकाशित गरेको तथ्यांकअनुसार जनवरी २४ मा सिरी ए लिगअन्तर्गत बोलोग्नाविरुद्धको खेल दौरान अर्थुरले रोनाल्डोको पासमा गोल गरेका थिए, जुन रेकर्ड असिस्ट थियो । सोही खेलबाट अर्थुर रोनाल्डोका तर्फबाट सोझै असिस्ट पाउने ८०औं खेलाडी बनेका थिए । यसअघि कुनै पनि एक खेलाडीले ८० जना फरक–फरक खेलाडीलाई असिस्ट गरेका थिएनन् ।

प्रकाशित मिति २६ माघ २०७७, सोमबार ०४:४२
Loading...