लुकाकु चम्किँदा इन्टर मिलानको फराकिलो जित

काठमाडौं, माघ १८
इटालियन सिरी ए लिगको उपाधि होडमा रहेको इन्टर मिलानले फराकिलो जित निकालेको छ । गत राति भएको लिगको २०औं साताको खेलमा मिलानले यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको बेनेभेन्टोलाई उसकै घरेलु मैदानमा ४–० ले स्तब्ध बनायो । मिलानको उत्कृष्ट जितमा बेल्जियन स्टार रोमेलु लुकाकुले २ गोल गर्दा लौटारो मार्टिनेजले १ गोल गरे । उपाधि होडमा अग्रता कायमै राख्न मिलानका लागि यो जित निकै महत्त्वपूर्ण रह्यो ।

आफ्नो घरमा मिलानले खेलको सातौं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । बेनेभेन्टोका लागि रिकार्डो इम्पोर्टाले आफ्नै पोस्टमा गोल गरेपछि मिलानले खेलमा अग्रता बनायो । त्यसपछि मिलानले बाँकी ३ वटै गोल दोस्रो हाफमा हान्यो । पहिलो हाफमा आत्मघाती गोलबाहेक मिलानले थुप्रै अवर बनाए पनि गोलमा परिणत गर्न नसक्दा दोस्रो गोलका लागि ५७औं मिनेटसम्म पर्खिनु परेको थियो ।

मिलानका लागि दोस्रो गोल अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले गोल गरेर खेल २–० बनाए । त्यसको १० मिनेटमा लुकाकुले व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरे । त्यसको ११ मिनेटपछि ७८औं मिनेटमा लुकाकुले नै गोल गरेपछि मिलानले ४–० को एकपक्षीय जित निकाल्यो । अब यो जितपछि मिलानले २० खेलबाट ४४ अंक बनाएको छ । ऊ शीर्ष टोली एसी मिलानभन्दा २ अंकले पछि छ । यता, पराजित बेनेभेन्टो २२ अंकसहित १२औं स्थानमा छ ।

प्रकाशित मिति १८ माघ २०७७, आईतवार ०८:२९
Loading...