सिरी ए : सहज जित निकाल्दै युभेन्टस तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ १७
इटालियन सिरी ए लिग फुटबलमा युभेन्टसले सहज जित निकालेको छ । शनिबार राति भएको लिगको १९औं साताको खेलमा युभेन्टसले अवे साम्पडोरियालाई उसकै घरेलु मैदानमा ०–२ को एकपक्षीय जित निकाल्दै महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो । अवे मैदानमा युभेन्टसलाई जिताउन युवा मिडफिल्डर फेडरिको किइजा र आरोन राम्सेले १–१ गोल गरे । किइजाले पहिलो र राम्सेले इन्जुरी समयमा गोल गरेका थिए ।

युभेन्टसले २०औं मिनेटमा खेलमा अग्रता लिएको थियो । किइजाले अल्भारो मोराटाको क्रस पासमा सुन्दर गोल गरेर टिमलाई लिड दिएका थिए । सो गोलमा क्रिस्टियानो रोनाल्डो, मोराटा र किइजाबीच निकै राम्रो मुभ बनेको थियो । खेलको दोस्रो अवसरमा किइजाले पाएको अवसरमा कुनै गल्ती नगरी गोल गरेरका थिए । युभेन्टस सोही अग्रता लिएर ९० मिनेटसम्म पुग्यो । र, इन्जुरी समयमा राम्सेले गोल गरेपछि खेल युभेन्टसले ०–२ ले जित्यो ।

आजको खेलमा पनि गोलविहीन बनेसँगै रोनाल्डो लिगका पछिल्ला ४ खेलमा लगातार गोलविहीन बनेका छन् । उनले घरेलु लिगमा पछिल्ला ४ खेलमा गोल गर्न सकेका छैनन् । युभेन्टस पुगिकन लगातार ४ खेलमा गोलविहीन बनेको यो नै पहिलोपटक हो । तैपनि, रोनाल्डो अझैसम्म सिरी ए लिगका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले लिगमा हालसम्म १५ गोल गरेका छन् ।

अब यो जितपछि युभेन्टसले १९ खेलबाट कूल ३९ अंक जोडेको छ । र, ऊ टेबलको तेस्रो स्थानमा पनि चढेको छ । ताजा अवस्थामा युभेन्टसले लिग लिडर एसी मिलानसँगको अंक दूरी ७ मा छोट्याएको छ । तर, युभेन्टसले एक थप खेल्न बाँकी नै छ । यता, पराजित साम्पडोरियाको खातामा २० खेलपछि २६ अंक भएको छ ।

प्रकाशित मिति १८ माघ २०७७, आईतवार ००:४५
Loading...