प्रिमियर लिगमा म्यानचेस्टर सिटीले निकाल्यो लगातार आठौं जित

काठमाडौं, माघ १७
इंग्लिस प्रिमियर लिग फुटबलमा पछिल्लो समय उत्कृष्ट लयमा फर्किएको म्यानचेस्टर सिटीले लगातार आठौं जित हात पारेको छ । आज शनिबार भएको लिगको २०औं साताको खेलमा सेफिल्ड युनाइटेडमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै सिटीले उपाधि होडमा अग्रता कायमै राख्न सफल भएको छ । सिजनको सुरुआत कमजोर तरिकाले गरेको सिटीले लिगका पछिल्ला ८ खेलमा १०० प्रतिशत जित निकालेर अघि बढेको छ ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा सिटीका लागि खेलको नवौं मिनेटमा गरेको १ मात्रै गोल जितका लागि पर्याप्त बन्यो । सो गोल ग्याब्रिएल जेससले गरेका थिए । सो गोलपछि खेलभरि नै दुवै टोलीबाट थप गोल नभएपछि खेल सिटीले सोही अग्रता बचाएर १–० ले जित्यो । खेलभरिमा सिटीले कूल १० पटक आक्रमण बुन्दा ५ प्रहार सही दिशामा प्रहार गरेको थियो । उसले खेलभरिमा ७५ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो ।

अब यो जितपछि सिटीले पछिल्लो ८ खेलमा लगातार जित निकाल्न सफल भएको छ । उसले यी ८ खेलमा विपक्षीको पोस्टमा कुल १९ गोल गर्दा आफूले भने मात्रै १ गोल खाएको छ । सिटी यतिबेला यो सिजनको सबैभन्दा बेस्ट फर्ममा फर्किएको छ । सिटीको खातामा अब २० खेलपछि ४४ अंक भएको छ । पराजित सेफिल्ड मात्रै ८ अंकसहित २०औं स्थानमा छ । यदि शनिबार राति नै आफ्नो खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भए सिटीले शीर्ष स्थानमा ४ अंकको अग्रता लिनेछ ।

प्रकाशित मिति १७ माघ २०७७, शनिबार २३:५०
Loading...