लेभान्टेले रियल मड्रिडलाई उसकै घरमा चखायो नमिठो हार

काठमाडौं, माघ १७
स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा फर्किन संघर्षरत रियल मड्रिड अर्को अप्रत्यासित हारको सिकार भएको छ । आज शनिबार राति भएको लिगको २०औं साताको खेलमा रियल मड्रिडलाई उसकै घरेलु मैदानमा पाहुना टोली लेभान्टेले १–२ ले स्तब्ध बनायो । खेलको नवौं मिनेटमै १० खेलाडीमा सीमित भएको घरेलु टोलीले अन्ततः पाहुना टोलीसँग हार पन्छाउन सकेन ।

रियलका युवा डिफेन्डर इडर मिलिटओ नवौं मिनेटमा सोझै रातो कार्ड पाएर मैदान छाडेपछि रियल दबाबमा परेको थियो । विपक्षी खेलाडीमाथि फउल गरेपछि रेफ्रीले सुरुमा पहेंलो कार्ड दिए पनि पछि भिएआरमार्फत् हेरेपछि पहेंलो कार्ड रद्द गरेर सोझै रातो कार्ड देखाएर मिलिटाओलाई मैदानबाट निकालेका थिए । रियलको पराजयमा डिफेन्डरले पाएको सोही रातो कार्ड नै प्रमुख कारण बन्यो ।

रियलका लागि खेलको १३औं मिनेटमा मार्को एसेन्सियोले निकै सुन्दर गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । आफ्नो बक्स क्षेत्रबाट टोनी क्रुसले दिएको लामो दूरीको पासमा एसेन्सियोले निकै शानदार गोल गरेरका थिए । तर, त्यसछि रियल सम्हालिन सकेन । खेलको ३२औं मिनेटमा लेभान्टेका लागि जोसे मोरालेसले गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि पाहुना टोली लेभान्टेले खेलको ६४औं मिनेटमा पेनाल्टी पायो । तर, रियलका गोलकिपर थिबाउट कोर्टुवाले रोजर मार्टीले हानेको पेनाल्टी लडेको अवस्थामा पनि एकै हातले रोकेपछि रियल खेलमा बचिराखेको थियो । तर, खेलको ७८औं मिनेटमा पेनाल्टी मिस गरेका लेभान्टेका लागि रोजर मार्टीले नै बक्स भित्रबाट निकै दर्शनीय गोल गरेपछि रियल संकटमा परेको थियो । अन्ततः दोस्रो गोल खाएपछि रियलले गोल निकाल्न सकेन । र, घरेलु मैदानमा १–२ को हार भोग्न बाध्य भयो ।

अब यो हारपछि रियलको खातामा २० खेलपछि मात्रै ४० अंक भएको छ । लिग लिडर एथ्लेटिको मड्रिडको भन्दा २ खेल बढी खेलेको रियल ताजा अवस्थामा ७ अंकले पछि छ । यता, विजयी लेभान्टेले २० खेलबाट २६ अंक बनाएर लिगको नवौं स्थानमा चढेको छ ।

प्रकाशित मिति १७ माघ २०७७, शनिबार १९:५४
Loading...