बार्यन म्युनिखले शानदार जित्दा डर्टमुन्डले निकाल्यो कमब्याक जित

काठमाडौं, माघ १७
जर्मन लिग बुन्डेसलिगा फुटबलमा लिग लिडर बार्यन म्युनिखले फराकिलो जित निकालेको छ । आज शनिबार राति भएको लिगको १९औं साताको खेलमा बार्यनले आफ्नो घरेलु मैदानमा पाहुना टोली होफेनहेइमाथि ४–१ को जित निकाल्यो । बार्यनलाई जिताउन ४ जना फरक–फरक खेलाडीले १–१ गोल गरे ।

बार्यनका लागि खेलको ३२औं मिनेटमा जेरोमे बोटेङले पहिलो गोल गरेर अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४३औं मिनेटमा थोमस मुलरले गोल गरेर खेल २–० बनाए । तर, लगत्तै ४४आौं मिनेटमा होफेनहेइमका लागि आन्द्रेज क्रमारिचले गोल गरेपछि पहिलो हाफ २–१ सकियो । त्यसपछि दोस्रो हाफमा बार्यनले २ गोल थप्यो ।

तेस्रो गोल खेलको ५७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गरेर अग्रता बढाए । त्यसपछि ६३औं मिनेटमा सेर्गे गेनाब्रीले गोल गरेपछि बार्यनको ४–१ को जित पक्का भयो । अब यो जितपछि बार्यनले १९ खेलबाट कूल ४५ अंक जोडेको छ । ऊ शीर्ष स्थानमा सुविधाजनक अग्रता बनाएर रहेको छ । पराजित होफेनहेइम २२ अंकसहित १२औं स्थानमा छ ।

यता, आजै भएको अर्को खेलमा बोरुसिया डर्टमुन्डले अग्सवर्गमाथि ३–१ को कमब्याक जित निकाल्यो । पाहुना टोली अगस्वर्गले खेलको १०औं मिनेटमा आन्ड्रे हानको गोलबाट अग्रता लिएको थियो । तर, त्यसपछि डर्टमुन्डले खेलमा पकड जमायो । २६औं मिनेटमा थोमस डेलानेले गोल गरेर खेल १–१ बनाउँदा ६३औं मिनेटमा जाडोन सान्चोले गोल गरेर अग्रता दिलाए । त्यसपछि ७५औं मिनेटमा १ आत्मघाती गोल भएपछि खेल डर्टमुन्डले ३–१ ले जित्यो । यो जितपछि डर्टमुन्डले १९ खेलबाट ३२ अंक बनाएर पाँचौं स्थानमा चढेको छ । तर, ऊ अझै पनि लिग लिडर बार्यनभन्दा १३ अंकले पछि छ ।

प्रकाशित मिति १७ माघ २०७७, शनिबार १९:१६
Loading...