‘सिङजोरी खेल्ने’ ज्लाटन र लुकाकुमाथि लाग्यो प्रतिबन्ध

एजेन्सी, माघ १७
खेल दौरान अनुशासनबिपरीत झगडामा उत्रिने इटालियन क्लब इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकु र एसी मिलानका ज्लाटन इब्राहिमोभिचमाथि प्रतिबन्ध लागेको छ । यी दुवै खेलाडीलाई सिरी ए लिगले अनुशासनको कारबाही गर्दै १–१ खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यी दुवै खेलाडीले सिरी ए लिगमा आगामी खेल गुमाउनेछन् । त्यसपछि उनीहरू मैदान फर्किन खुला हुनेछन् ।

गत मंगलबार कोपा इटालियाअन्तर्गत क्वार्टरफाइनलमा भएको मिलान डर्बी भिडन्तमा यी दुई खेलाडीबीच झगडा भएको थियो । एसी मिलानका डिफेन्डर एलेसियोले फउल गरेको भन्दै इन्टर मिलानका लुकाकुले रेफ्रीसँग अपिल गरेका थिए । तर, त्यसबेला ज्लाटनले कुनै फउल नभएको संकेत गर्दै बल अघि बढाएका थिए । त्यसपछि लुकाकु ज्लाटनसँग रिसाएका थिए ।

यति भइसकेपछि ज्लाटन र लुकाकुबीच सुरुमा मुखले भनाभन गरे । केही समय वादविवादमा बिताए । तर, त्यसछि उनीहरू आक्रामक भए । र, आवेशमा आएर एकअर्काले टाउको ठोक्काएका थिए । निकै आक्रामक देखिएका लुकाकु रिसाउँदै ज्लाटनतर्फ अघि बढेका थिए । त्यसबेला लुकाकुले केही बोल्दै टाउकोले हान्न खोजेको भिडियोमा देखिएको थियो । साथै, ज्लाटनले पनि लुकाकुको अनुहारमा टाउकोले हानेका थिए । त्यसपछि तनाव कम गर्न रेफ्रीले दुवै खेलाडीलाई पहेंलो कार्ड दिएर छुटाएका थिए । पछि ज्लाटनले ५८औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

सो खेलपछि लुकाकुले आफूमाथि ज्लाटनले जातीय भेदभावपूर्ण गाली गरेको बताएका थिए । तर, ज्लाटनले भने सो कुरा ठाडै अस्वीकार गरेका थिए । सो विषयमा भने हालसम्म छानबिन भएको छैन । ज्लाटन र लुकाकु कुनैबेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा छँदा सहकर्मी थिए । सन् २०१७–१८ मा उनीहरूले युनाइटेडमा सँगै खेलेका थिए । तर, यसपटक यी दुई खेलाडी भने सिङजोरीमा उत्रिए । र, कारबाहीको भागिदार पनि भए ।

प्रकाशित मिति १७ माघ २०७७, शनिबार १७:३५
Loading...