ला लिगामा आज चार खेल हुँदै : रियल मड्रिड र लेभान्टे भिड्दै

काठमाडौं, माघ १७
स्पेनिस ला लिगा फुटबलमा आज विभिन्न ४ खेलहरू हुँदैछन् । आज हुने खेलमा लिगका बलिया टोलीहरू सेभिल्ला र रियल मड्रिडले पनि आ–आफ्नो खेल खेल्दैछन् । जसमा सेभिल्लाले एइबारको सामना गर्नेछ भने रियल मड्रिडले लेभान्टेको सामना गर्नेछ । अन्य खेलमा भ्यालेन्सिया र इल्चे खेल्दा अन्तिम खेलमा भिल्लारियल र रियल सोसिडाडबीच पनि अर्को खेल हुनेछ । तर, आज हुने खेलमध्ये धेरैको ध्यान रियल मड्रिड र लेभान्टेको खेलमाथि हुनेछ ।

रियल मड्रिड आज लिगको २०औं साताको खेल खेल्दै छ । हाल रियल अंक तालिकामा रियल १९ खेलपछि ४० अंक बनाएर दोस्रो स्थानमा छ । जारी सिजन कमजोर अवस्थामा रहेको रियलले हालसम्म १२ खेल जितेर ४ खेल बराबरी गर्दा ३ खेल हारेको छ । ताजा अवस्थामा रियल लिग लिडर एथ्लेटिको मड्रिडभन्दा ७ अंकले पछि छ । जबकि, ७ अंकले पछि भइकन पनि एथ्लेटिकोले थप १ खेल खेल्नै बाँकी छ । यो सिजन एथ्लेटिको उत्कृष्ट लयमा छ । र, उसले शीर्ष स्थानमा सुविधाजनक अग्रता बनाएर उपाधि होड लिड गरिरहेको छ ।

रियल मड्रिड आज लिगको १२औं स्थानको लेभान्टेलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दा सहज जितको खोजीमा हुनेछ । लेभान्टे हाल १९ खेलपछि २३ अंक बनाएर १२औं स्थानमा रहेको छ । अल्फ्रेडो डे स्टेफानो रंगशालामा आज लेभान्टेविरुद्ध खेल्दा रियल ३ अंक जोडेर एथ्लेटिकोसँगको अंक दूरी घटाउने दाउमा छ । यदि आजको खेल जिते एथ्लेटिकोसँगको अंक दूरी ४ मा झर्नेछ । तर, एथ्लेटिकोसँग थप २ खेल बाँकी नै हुनेछन् । उपाधि होडमा फर्किन रियलमाथि अबका हरेक खेल जित्नैपर्ने दबाब छ । आजका खेल नेपाली समयमा–

एइबार भर्सेस सेभिल्ला – साँझ ६ः४५ बजे
रियल मड्रिड भर्सेस लेभान्टे – राति ९ बजे
भ्यालेन्सिया भर्सेस इल्चे – राति ११ः१५ बजे
भिल्लारियल भर्सेस रियल सोसिडाड – राति १ः४५ बजे

प्रकाशित मिति १७ माघ २०७७, शनिबार ११:३८
Loading...