तीन महिनापछि फाती प्रशिक्षणमा फर्किने तयारी : मैदानमा कहिले ?

एजेन्सी, माघ १६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका युवा स्टार अन्सु फाती लामो समयपछि प्रशिक्षणमा फर्किने तयारीमा आइपुगेका छन् । फाती गत कात्तिक तेस्रो साता ला लिगामा रियल बेटिसविरुद्ध घरेलु मैदानमा खेल्नेक्रममा घाइते भएका थिए । त्यसपछि उनको घुँडाको शल्यक्रिया भएको थियो । उनको देब्रे घुँडामा चोट परेको थियो । फातीको कात्तिक २४ गते अप्रेसन भएको थियो । त्यसयता उनी लगातार उपचारमा सहभागी हुँदै आराम गर्दै आएका थिए ।

स्पेनिस मिडियाका अनुसार १८ वर्षका फाती तीन महिनापछि रिकभरीको अन्तिम चरणमा पुगेका छन् । उनले अर्को साताबाट एकल प्रशिक्षण थाल्ने सम्भावना छ । फाती चोटमुक्त हुनका लागि अन्तिम चरणमा छन् । तत्कालका लागि फातीले दुई सातासम्म एकल प्रशिक्षण गर्नेछन् । त्यसपछि मात्रै उनले समूहमा प्रशिक्षण गर्न पाउनेछन् । फाती प्रशिक्षणमा फर्किन लागे पनि उनले फागुन २० भन्दा यता मैदान फर्किने सम्भावना छैन ।

फाती एकल प्रशिक्षणमा फर्किएपछि उनको रिकभरी प्रक्रिया कसरी अघि बढ्छ र उनी कति चाँडो फिट हुने क्रममा अघि बढ्छन्, त्यसले उनी कहिलेबाट मैदान फर्किन तयार हुन्छन् भन्ने कुरा तय गर्नेछ । यसअघि उनको अप्रेसन हुँदा बार्सिलोनाले फातीलाई पूर्ण रूपमा ठीक हुन चार महिनासम्म लाग्न सक्ने बताएको थियो । त्यस आधारमा हेर्दा फाती कम्तीमा पनि फागुन १५ देखि उता मात्रै मैदान फर्किन सक्नेछन् ।

फातीले जारी सिजन सबैखाले प्रतियोगिताबाट १० खेल खेल्दै ५ गोल गरेका छन् । उनले ला लिगामा ७ खेलबाट ४ गोल गरेका छन् । फाती घाइते भएपछि बार्सिलोनाको फ्रन्ट लाइन लगातार संघर्ष गरिरहेको छ । फातीले घाइते हुनुअघि कप्तान लिओनल मेस्सीलाई मजबुतीका साथ अट्याकमा सघाइरहेका थिए । अहिले फातीको अनुपथितिमा फ्रन्ट लाइन मेस्सी, एन्टोनी ग्रीजम्यान, उसामान डेम्बेलेले सम्हालिरहेका छन् । तैपनि, बार्सिलोना लगातार संघर्ष गरिरहेको छ ।

प्रकाशित मिति १७ माघ २०७७, शनिबार १०:१५
Loading...