आज साम्पडोरिया र युभेन्टसको भिडन्त : रोनाल्डो मैदान फर्किंदै

काठमाडौं, माघ १७
इटालियन सिरी ए लिग फुटबलमा आज विभिन्न ३ खेलहरू हुँदैछन् । २०औं साताका ३ खेल हुँदा एक खेलमा साम्पडोरिया र युभेन्टसको खेल हुनेछ । यो खेल साम्पडोरियाको घरेलु मैदानमा नेपाली समयअनुुसार राति ठीक १०ः४५ बजेबाट सुरु हुनेछ । आजको खेल युभेन्टसका लागि यो सिजनको १९औं खेल हुनेछ भने साम्पडोरियाका लागि २०औं खेल हुनेछ । लिगमा युभेन्टस र नापोलीले थप एक खेल खेल्न बाँकी नै छ ।

हाल अंक तालिकामा युभेन्टस १८ खेलपछि ३६ खेलपछि चौथो स्थानमा छ । युभेन्टसले यो सिजन हालसम्म १० खेल जितेर ६ खेल बराबरी गर्दा २ खेल हारेको छ । यता, साम्पडोरिया हाल १९ खेलपछि २६ अंक बनाएर १०औं स्थानमा छ । ताजा स्थितिमा युभेन्टस लिग लिडर एसी मिलानभन्दा ७ अंकले पछि छ । आज युभेन्टसले आफ्नो खेल खेल्दा आजै एसी मिलानले पनि त्योभन्दा पहिला आफ्नो खेल खेल्नेछ । यदि एसी मिलान हारे वा रोकियो भने त्यसपपछि युभेन्टसले आफ्नो खेल जितेर त्यसको फाइदा उठाउन सक्छ ।

युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो आजको खेलबाट मैदान फर्किंदैछन् । यसअघि कोपा इटालियाको अन्तिम आठको खेलमा रोनाल्डोलाई आराम दिइएको थियो । सो खेलमा रोनाल्डोबिनै युभेन्टसले एसपिएललाई ४–० ले हराएको थियो । तर, आजको खेलबाट रोनाल्डो टोलीमा फर्किंदैछन् । रोनाल्डोले शुक्रबारबाटै टोलीसँगै ठीकठाक प्रशिक्षण गरेका छन् । खेलअघि प्रशिक्षक आन्ड्रेया पिर्लोले पनि रोनाल्डो साम्पडोरियाविरुद्धको खेलबाट टोलीमा फर्किने बताएका छन् ।

जारी सिजन रोनाल्डोले युभेन्टसका लागि सबैखाले प्रतियोगिताबाट २० खेल खेल्दै २० गोल र ५ असिस्ट गरेका छन् । सिरी ए लिगमा उनले हालसम्म १५ खेलबाट १५ नै गोल गरेका छन् । तर, लिगमा पछिल्ला ३ खेलमा रोनाल्डो लगातार गोलविहीन बनेका छन । आज राति अवे मैदानमा साम्पडोयिाविरुद्ध उत्रिँदा रोनाल्डोमाथि गोल गर्नुपर्ने दबाब हुनेछ । युभेन्टस सरुवा भइकन उनले आजसम्म लगातार ४ खेलमा गोलविहीन हुनु परेको छैन । तसर्थ, आज राति रोनाल्डोमाथि गोल गर्नुपर्ने दबाब हुनेछ ।

प्रकाशित मिति १७ माघ २०७७, शनिबार ०७:०९
Loading...