‘सिरी ए’को उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानलाई पिर्लोको यस्तो सन्देश

एजेन्सी, माघ १६
इटालियन क्लब युभेन्टसका प्रमुख प्रशिक्षक आन्ड्रेया पिर्लोले आफूहरू सिरी ए लिगको उपाधि होडबाट टाढा नरहेको बताएका छन् । शनिबार लिगमा साम्पडोरियासँगको खेलअघि आयोजित प्रेस कन्फ्रेन्समा कुरा गर्दै उनले युभेन्टस अझै लिग जित्ने प्रतिस्पर्धामा रहेको बताए । लिगमा अझै थुप्रै खेल बाँकी रहेकाले हालको आफूहरूको स्थिति बाहिर चर्चा भएजति चिन्ताजनक र निराशाजन नरहेको उनको भनाइ छ ।

यो सिजन घरेलु लिगमा कमजोर स्थितिमा रहेको युभेन्टसले १९ खेलबाट मात्रै ३६ अंक जोडेको छ । ताजा स्थितिमा युभेन्टस एक खेल बढी खेलेको लिग लिडर एसी मिलानभन्दा ७ अंकले पछि छ । युभेन्टसले नापोलीसँग एक खेल खेल्नै बाँकी छ । यदि सो खेल जितेर युभेन्टस र एसी मिलानबीचको दूरी ४ मा झर्नेछ । यता, युभेन्टस दोस्रो स्थानको यन्टर मिलानभन्दा ५ अंकले पछि छ । इन्टरले पनि युभेन्टसको भन्दा एक खेल बढी नै खेलेको छ ।

मिडियाको प्रश्नमा जवाफ दिँदै पिर्लोले आफूहरूले लिगमा चाँडै पुनरागमन गर्ने भनाइ राखे । अझै आधा सिजन बाँकी नै रहेको स्थितिमा ५–७ अंकको दूरी चिन्ताजनक नरहेको उनको भनाइ थियो । ‘युभेन्टस सिरी ए लिगको उपाधि होडबाट टाढा पुगेको छैन । हामी केही परतिर छौं । मलाई लाग्दैन, यो चिन्ताजनक र निराशाजनक अवस्था हो,’ पिर्लोले भने, ‘भर्खर आधा सिजन सकिँदैछ । ५–७ अंकको दूरीलाई हामीले चिन्ताजनक ठानेका छैनौं । तर, हामीले अब लगातार राम्रो गर्दै जानुपर्छ ।’

लिग लिडर एसी मिलान र दोस्रो स्थानको इन्टर मिलानप्रति लक्षित गर्दै पिर्लोले युभेन्टस चाँडै उपाधि होडमा अगाडि आउने बताए । ‘अहिले उनीहरू (एसी मिलान र इन्टर मिलान) केही अघि छन् । हामीसँग एक अतिरिक्त खेल बाँकी नै छ । जब हामी यो खेल जित्छौं, त्यहाँ ४ अंकको दूरी रहनेछ,’ पिर्लोले भने, ‘१५ भन्दा बढी खेल बाँकी रहको अवस्थामा ४ अंकलाई हामी ठूलो अन्तर मान्दैनौं । खेलमा जे पनि हुन्छ । यो अझै बढ्न पनि सक्छ । अथवा, दुई खेलबाटै यो अन्त्य पनि हुन सक्छ ।’

पिर्लोले युभेन्टस अब लिगमा हरेक खेलमा जितको खोजीमा रहने बताउँदै खेलाडी अबको बाटोप्रति सचेत रहेको पनि बताए । ‘अब सिजनको निर्णायक र सबैभन्दा महत्त्वपूर्ण चरण सुरु भएको छ । हामी कोपा इटालियाको तालिकामा छौं र अर्को महिनाबाट च्याम्पियन्स लिगका महत्त्वपूर्ण खेल हुनेवाला छन् । च्याम्पियन्स लिगमा फर्किनुअघि हामी लिगमा अवस्था सुधार गर्न चाहन्छौं । लिगमा अब के गर्नुपर्छ र कसरी अघि बढ्नुपर्छ भन्ने हाम्रा खेलाडीलाई थाहा छ,’ पिर्लोले भने, ‘अहिले हाम्रो ध्यान कोपाको सेमिफाइनल र लिगका आगामी खेलमा केन्द्रित छ ।’

प्रकाशित मिति १६ माघ २०७७, शुक्रबार १९:१७
Loading...