‘दशककै बेस्ट प्लेइङ–११’ मा रियल मड्रिडको बर्चस्व : को–को परे ?

एजेन्सी, माघ १६
युरोपियन शीर्ष लिगबाट पछिल्लो दशककै बेस्ट प्लेइङ ११ घोषणा भएको छ । ‘आईएफएफएचएस’ले सन् २०११–२०२० सम्मको अवधिका लागि सर्वोत्कृष्ट प्लेइङ सेट घोषणा गरेको हो । सो संस्थाले पछिल्ला १० वर्षभित्र बेस्ट प्रदर्शन गर्ने खेलाडीलाई आधार मानेर यस्तो टोली घोषणा गरेको हो । उसले यसलाई ‘आईएफएफएचएस वर्ल्ड टिम अफ् द डिकेड २०११–२०२०’ नाम दिएको छ । टोलीमा पछिल्लो दशकका चर्चित अनुहारहरूलाई देख्न सकिन्छ ।

दशकभरिकै सर्वोत्कृष्ट टोलीमा सबैभन्दा धेरै स्पेनिस क्लब रियल मड्रिडका ५ जना खेलाडी परेका छन् । सो संस्थाले हाल इटालियन युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डोलाई रियल मड्रिड र युभेन्टस दुवै टोलीको खेलाडी मानेको छ । किनभने, रोनाल्डो सन् २००९ देखि २०१८ सम्म रियल मड्रिडकै खेलाडी थिए । र, उनले सोही क्लबबाट ठूला–ठूला सफल प्राप्त गरेका थिए । रोनाल्डोलाई समेत गणना गर्दा दशककै बेस्ट टिममा रियलका ५ जना खेलाडी समावेश छन्, जुन सबैभन्दा बढी हो ।

युरोपियन च्याम्पियन्स लिगमा दोस्रोपटक ह्याट्रिक गरेर इतिहास रचेको रियलबाट हालका कप्तान सर्जियो रामोससहितका ५ जना खेलाडी परेका छन् । रोनाल्डो र रामोससहित डिफेन्डर मार्सेलो र मिडफिल्डरद्वय लुका मोड्रिच टोनी क्रुस पनि बेस्ट टिममा परेका छन् । टोलीमा रियलबाट मात्रै २ जना डिफेन्डर र २ जना मिडफिल्डर पर्न सफल भएका छन् । टोली १–४–३–३ फर्मेसनमा तयार पारिएको छ । अट्याकिङ लाइनमा ३ जना फरवार्ड/स्ट्राइकर छन् ।

त्यसैगरी, जर्मन क्लब बार्यन म्युनिखका दोस्रो धेरै ३ जना खेलाडी छन् । पछिल्लो दशकमा बार्यनले युरोपको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग दुईपटक जितेको छ । सो क्लबबाट पूर्वखेलाडी फिलिप लहाम, म्यानुएल निउर र रोवर्ट लेवान्डोस्की रहेका छन् । त्यसपछि स्पेनिस क्लब बार्सिलोनाबाट २ जना छन् । बार्सिलोनाबाट पूर्वकप्तान आन्द्रेस इनिएस्टा र हालका कप्तान लिओनल मेस्सी मात्रै परेका छन् । लिगका हिसाबले हेर्दा ११ जनामध्ये ला लिगाका सबैभन्दा धेरै ७ जना खेलाडी परेका छन् । ला लिगाबाट गोलकिपरबाहेक सबै विधामा खेलाडी परेका छन् ।

यता, सबैभन्दा चर्चित र उत्कृष्ट मानिने इंग्लिस प्रिमियर लिगबाट बेस्ट टोलीमा जम्मा १ जना मात्रै खेलाडी परेका छन्, जसमा लिभरपुलका डिफेन्डर भर्जिल भान डाक रहेका छन् । दशककै बेस्ट टोलीमा प्रिमियर लिगको प्रतिनिधित्व गर्ने उनी एक मात्रै खेलाडी हुन् । यस टोलीमा विगतमा बार्सिलोना र हाल फ्रेन्च क्लब पिएसजीमा रहेका ब्राजिलियन स्टार नेइमार भने परेका छैनन् । उनी सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा थिए भने अहिले पिएसजीमा छन् । दशककै बेस्ट टिममा फ्रेन्च लिग वानबाट १ जना पनि खेलाडी परेका छैनन् ।

यस्तो छ दशककै बेस्ट प्लेइङ–११:

 

प्रकाशित मिति १६ माघ २०७७, शुक्रबार १५:४२
Loading...