‘बार्सिलोना छाड्ने नै भए मेस्सीका लागि सिटीभन्दा पिएसजी सहज’

एजेन्सी, माघ १६
स्पेनिस क्लब बार्सिलोनाका कप्तानसमेत रहेका लिओनल मेस्सीले यो सिजनको अन्त्यसँगै स्पेन छाड्ने तयारी गरेका छन् । उनलाई फ्री ट्रान्सफरमा लैजानका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजी सबैभन्दा बढी इच्छुक देखिएका छन् । तर, आफ्नो नयाँ क्लबको सम्भावनाबारे मेस्सी स्वयंले भने आजसम्म मुख खोलेका छैनन् । स्पेनमा आफ्नो भविष्यलाई लिएर अर्जेन्टिनाका ३४ वर्षीय मेस्सी अहिलेसम्म मौन अवस्थामा देखिन्छन् ।

यता, पिएसजीका नयाँ प्रशिक्षक मोउरिसियो पोचेटिनोले भने आफूले मेस्सीलाई पिएसजीमा चाहेको सार्वजनिक रूपमै बताएका छन् । त्यत्ति मात्रै हैन, उनले त परोक्ष रूपमा मेस्सीका लागि ‘सिटीभन्दा पिएसजी सहज’ रहेको पनि बताएका छन् । ‘टेलिग्राफ’सँग कुरा गर्दै अर्जेन्टिनाका प्रशिक्षकले मेस्सीले बार्सिलोना छाड्ने भए पिएसजी उनलाई अनुबन्ध गर्न तयार रहेको बताएका छन् ।

‘लिओनल मेस्सीजस्ता खेलाडीलाई कसले चाहँदैन ? अवश्य पनि, यदि उनी सरुवाका लागि उपलब्ध छन् भने पिएसजी सबैभन्दा अगाडि आउनेछ । तर, अझै त उनी बार्सिलोनाकै खोलडी हुन्,’ पोचेटिनोले भनेका छन्, ‘मैले यो लुकाउनुपर्ने कुनै कारण छैन कि, म लिओसँग काम गर्न चाहन्छु । र, यो सम्भव पनि छ । यदि उनले हामीलाई विश्वास गर्छन् भने ….. ।’

पोचेटिनोले सरुवा बजारका विभिन्न चर्चा आफूले पनि सुन्दै आएको बताउँदै बार्सिलोना छाड्नै परे मेस्सीका लागि प्रिमियर लिग क्लबभन्दा पिएसजी सहज रहेको पनि बताएका छन् । ‘प्रिमियर लिग कस्तो लिग हो, सबैलाई थाहा छ । अझै पनि लिओका लागि ला लिगा नै राम्रो हो । तर, उनी अब त्यहाँ रहन चाहँदैनन् भने उनका लागि प्रिमियर लिगभन्दा फ्रेन्च लिग धेरै सहज हुन्छ,’ पोचेटिनोले भनेका छन्, ‘पिएसजीमा नेइमार छन् । र, लिओ नेइमारसँग पुनः खेल्न चाहन्छन् । नेइमार पनि यो चाहन्छन् । उनी यहाँ आउन सक्ने एक प्रमुख कारण यो पनि हो । तपाईं यो सिजनको अन्त्यसम्म पर्खनुहोस् र लिओको अवस्थालाई हेर्नुहोस् । अहिले म योभन्दा धेरै भन्न सक्दिनँ ।’

यता, मेस्सी भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला पनि इच्छुक देखिन्छन् । विगतमा लामो समय बार्सिलोनामा सँगै काम गरिसकेकाले पेप र मेस्सीबीच निकै राम्रो सम्बन्ध छ । पेपले यसअघि सन् २०१६ मै मेस्सी भित्र्याउन प्रयास गरेका थिए । तर, त्यसपछि मेस्सी बार्सिलोना छाड्ने अवस्थामा थिएनन् । पछिल्ला वर्ष क्याटनल क्लब लगातार ठूला उपाधि जित्नबाट असफल हुँदै गएपछि र क्लबको बोर्डसँग सम्बन्ध बिग्रँदै गएपछि मेस्सी निराश बनेर २० वर्षदेखि रहँदै आएको क्लब छाड्ने अवस्थामा पुगेका छन् । हालको स्थिति हेर्दा मेस्सीले यो सिजन सकिएपछि मात्रै आफ्नोा भविष्यबारे निर्णय लिने देखिन्छ ।

प्रकाशित मिति १६ माघ २०७७, शुक्रबार १३:४७
Loading...