रोनाल्डोमाथि इटालीको प्रहरीले अनुसन्धान थाल्यो

एजेन्सी, माघ १६
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि इटालीको प्रहरीले अनुसन्धान थालेको छ । रोनाल्डोले आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजको जन्मदिन मनाउनेक्रममा कोभिड–१९ को प्रोटोकल तोडेको आरोपमा प्रहरीले अनुसन्धान थालेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

दुई दिनअघि रोनाल्डोकी प्रेमिका जर्जिनाको २७औं जन्मदिन थियो । रोनाल्डोले प्रेमिकाको जन्मदिन आफ्नो परिवारसँग मनाएका थिए । इटालीमा कोरोना प्रोटोकल अनुसार ‘अरेन्ज जोन’ मा काम गर्न वा घुम्न पाइँदैन । रोनाल्डोले प्रेमिकाको जन्मदिन मनाउन पेइडमोन्ट र भिल्ला डि‘ओस्टको क्षेत्रमा भ्रमण गरेको खुलेको छ, जुन प्रोटोकल बिपरीत हो ।

रोनाल्डोले सामाजिक सन्जालमार्फत् प्रेमिकाको जन्मदिन मनाइरहेको तस्बिर र भिडियो सार्वजनिक गरेका छन् । जसमा उनी आफ्नो प्रेमिकासँग एउटा माउन्टेन रिसोर्टमा मस्ती गरिररहेको देख्न सकिन्छ । रिपोर्टअनुसार रोनाल्डो र उनकी प्रेमिका सो रात रिसोर्टमै बिताएर टुरिन फर्किएका थिए ।

इटालियन मिडियाका अनुसार रोनाल्डो र उनकी प्रेमिका रिसोर्टमा पुगेको विषयमा अनुसन्धान भइरहेको छ । यदि सो अभियोगमा दोषी ठहर भए कोरोना प्रोटोकलअनुसार रोनाल्डो र उनकी प्रेमिका दुवैले आर्थिक जरिमाना तिर्नुपर्नेछ ।

यसअघि कोपा इटालियामा युभेन्टसले अन्तिम आठको खेलमा एसपिएललाई ४–० ले हराउँदा रोनाल्डो बिदामा थिए । सो खेलमा उनलाई आराम दिइएको थियो ।

रोनाल्डो बिहीबारबाटै क्लब फर्किएर प्रशिक्षणमा सामेल भइसकेका छन् । उनी अहिले समूहसँगै प्रशिक्षणमा व्यस्त छन् । युभेन्टसले शनिबार सिरी ए लिगमा साम्पडोरियसँग खेल्दै छ । जारी सिजन रोनाल्डोले युभेन्टसका लागि २० खेलबाट २० गोल गर्दै ५ असिस्ट गरेका छन् ।

प्रकाशित मिति १६ माघ २०७७, शुक्रबार १०:५२
Loading...