प्रिमियर लिग : लिभरपुलले टोटनह्यामलाई उसकै घरमा हरायो

काठमाडौं, माघ १६
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अर्को बलियो टोली टोटनह्यामलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । गत राति भएको आफ्नो २०औं खेलमा लिभरपुलले टोटनह्याममाथि १–३ को सहज जित निकाल्यो । चर्को दबाबबीच आफ्नो घरमा उत्रिँदा टोटनह्यामले हार पन्छाउन सकेन ।

यससँगै टोटनह्यामले यो सिजन लिगका दुवै खेलमा लिभरपुलसँग हार भोगेको छ । यसअघि लिभरपुलको घरमा पनि टोटनह्याम पराजित भएको थियो । उपाधि होडमा फर्किन महत्त्वपूर्ण मानिएको खेलमा हार भएपछि जोसे मोउरिन्होको टोलीलाई अब समस्या बढेको छ । यता, साबिक च्याम्पियन लिभरपुलले भने यो जितपछि अंक तालिकामा सुधार गरेको छ ।

पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका लागि रोवर्टो फर्मिन्होले गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ ट्रेन्ट अलेक्सान्डर अर्नोल्डेले गोल गरेपछि टोटनह्याम ०–२ ले पछि परेको थियो । तर, दोस्रो गोल खाएको २ मिनेटमै टोटनह्यामका लागि पियरे इमिले हजवजर्गले गोल गरेपछि खेल १–२ भयो ।

त्यसपछि खेलको ६५औं मिनेटमा लिभरपुलका लागि मोहमद सालाहले गोल गरेपछि लिभरपुल जिततर्फ अघि बढेको थियो । तेस्रो गोल खाएपछि टोटनह्याम खेलमा फर्किन सकेन । र, खेल लिभरपुलले १–३ ले जित्यो । अब यो जितपछि लिभरपुलले २० खेलबाट ३७ अंक जोडेर चौथो स्थानमा छ । पराजित टोटनह्याम १९ खेलपछि ३३ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति १६ माघ २०७७, शुक्रबार ०८:३२
Loading...