किइजाद्वारा रोनाल्डोको उच्च प्रशंसा

एजेन्सी, माघ १५
इटालियन क्लब युभेन्टसका युवा प्ले मेकर फेडरिको किइजाले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोको उच्च प्रशंसा गरेका छन् । गत राति कोपा इटालियाको अन्तिम आठमा एसपिएलमाथि ४–० को जित निकालेपछि प्रतिक्रिया दिँदै उनले रोनाल्डोसँग मिलेर धेरैभन्दा धेरै उपाधि जित्न चाहेको बताए । सो खेलमा किइजाले बेन्चबाट मैदान प्रवेश गरेर १ गोल गरेका थिए ।

किइजाले रोनाल्डो हुँदा र नहुँदा टोलीको आत्मबल र लक्ष्यमा फरक पर्ने बताए । ‘क्रिस्टियानो हुँदा र नहुँदा टोलीको आत्मबल र लक्ष्यमा फरक पर्छ । उहाँ हाम्रा लागि ज्यादै महत्त्वपूर्ण खेलाडी हुनुहुन्छ । आज हामीले उहाँबिनै खेल्यौं । र, एक राम्रो नतिजा निकाल्यौं,’ किइजाले भने, ‘आगामी खेल हामी उहाँसँगै खेल्नेछौं । हामी हरेक खेलाडी सधैं उहाँसँग खेल्न चाहन्छौं ।’

ठूला खेल र उपाधि होडमा युभेन्टस रोनाल्डोसँग हुँदा थप मजबुत हुने किइजाले बताए । ‘हामीले उहाँसँगै सुपर कपको उपाधि केही दिनअघि मात्रै जित्यौं । हामी उहाँसँग मिलेर अझै धेरै उपाधि जित्न चाहन्छौं,’ किइजाले भने, ‘म उहाँसँग सधैं खेल्न र धेरैभन्दा धेरै उपाधि जित्न चाहन्छु ।’

किइजाले युभेन्टसको अबको ध्यान कोपा इटालियाको सेमिफाइनलमा हुने पनि बताए । ‘हामी कोपाको सेमिफाइनल खेलबारे गम्भीर छौं । हामीले यो खेलका लागि खास तयारी गर्नेछौं । र, यस खेलमा क्रिस्टियानो हामीसँग आउनुहुनेछ,’ किइजाले भने, ‘हामी यो सिजनको दोस्रो उपाधिका रूमा कोपा इटालिया जित्न चाहन्छौं ।’

प्रकाशित मिति १५ माघ २०७७, बिहीबार २१:०४
Loading...