पाँचौंपटक च्याम्पियन्स लिग जित्ने क्रुसको लक्ष्य

एजेन्सी, माघ १५
स्पेनिस क्लब रियल मड्रिडका स्टार मिडफिल्डर टोनी क्रुसले रियल मड्रिडबाट तीन पटक च्याम्पियन्स लिग जितिसकेका छन् । पूर्व जर्मन क्लब बार्यन म्युनिखबाट उनले एक गरी कूल चारपटक युरोपको सबैभन्दा ठूलो उपाधि जितिसकेका छन् । सन् २०१४ को विश्वकपविजेता क्रुस भने अझैं एक च्याम्पियन्स लिग जित्न चाहन्छन् ।

उमेरले ३१ वर्ष पुगेका जर्मन खेलाडी क्रुस अझैं रियलसँग पाँचौं च्याम्पियन्स लिग जित्न सकिनेमा विश्वस्त छन् । एक अन्तर्वार्तामा कुरा गर्दै उनले सो कुरा खुलेर बताएका छन् । पाँचौं च्याम्पियन्स लिग उपाधि अब आफूले जित्न चाहेको उपाधि रहेको उनले खुलाएका छन् ।

‘मैले यसअघि नै चार च्याम्पियन्स लिग उपाधि जितिसकेको छु । तर, मसँग अझै पनि पाँचौं च्याम्पियन्स लिग जित्ने लक्ष्य र सपना छ । यो उपाधि जित्न सधैं कठिन हुन्छ । तर, म यो चाहन्छु । म र मेरो टिम हरेक सिजन यो उपाधि जित्न चाहन्छौं । हामीले यो उपाधि लगातार तीन सिजन पनि जित्यौं । तर, म यो टिमसँग अझै एक उपाधि जित्न चाहन्छु । मलाई लाग्छ, ढिलो–चाँडो यो हुनेछ,’ क्रुसले भने ।

क्रुसले च्याम्पियन्स लिगसँग रियल मड्रिडको विशेष सम्बन्ध रहेको पनि बताए । ‘रियल १३औं पटकको युरोपियन च्याम्पियन हो । हामी सक्दो चाँडौं १४औं उपाधि बेर्नाबेउ ल्याउन चाहन्छौं । यस प्रतियोगितासँग रियलको विशेष सम्बन्ध छ । हामी अझै पनि यो उपाधि जित्न योग्य र दाबेदार टिम हौं,’ क्रुसले भने ।

क्रुसले रियल मड्रिड सर्नुअघि सिजन २०१२–१३ मा बार्यन म्युनिखबाट पहिलो च्याम्पियन्स लिग जितेका थिए । त्यसपछि उनले रियलबाट सिजन २०१५–१६, २०१६–१७ र २०१७–१८ मा लगातार यो उपाधि जितेका छन् । रियलले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्दा क्रुस टोलीमा एक प्रमुख खेलाडी थिए ।

प्रकाशित मिति १५ माघ २०७७, बिहीबार १९:४०
Loading...