काठमाडौं, माघ १५
पुनरागमन जित निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रे कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको अन्तिम १६ को खेलमा बार्सिलोनाले दोस्रो डिभिजनको टिम रायो भालेकानोमाथि १–२ को जित निकाल्दै अर्को चरण पुग्न सफल भयो ।
भालेकानोको घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको बार्सिलोनाले खेलमा पछि परेको स्थिति उल्टाएर जितेको हो । बार्सिलोना खेलको ६३औं मिनेटमा गोल खाएर पछि परेको थियो । तर, त्यसपछि कप्तान लिओनल मेस्सी र फ्रेन्की डे जोङले गोल गरेर टिमलाई जिताउन सफल भए ।