कारण दिँदै अर्थुरले मेस्सी छाडेर रोनाल्डोलाई रोजे

एजेन्सी, माघ १४
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सी दुवैसँग सहकर्मी बनेर खेल्ने थोरै मात्र खेलाडी छन् । तीमध्येका एक हुन्– ब्राजिलका युवा मिडफिल्डर अर्थुर मेलो । गत सिजनसम्म स्पेनिस बार्सिलोनामा खेलेका अर्थुर अहिले इटालियन युभेन्टसमा रोनाल्डोसँग सहकर्मी बनेर खेलिरहेका छन् ।

उनै अर्थुरले हालसालै एक अन्तर्वार्तामा कुरा गर्दै रोनाल्डो र मेस्सीको उत्कृष्टताको विषयमा बोलेका छन् । सोक्रममा उनले पूर्वसहकर्मी मेस्सीको उच्च प्रशंसा गरेका छन् । तर, उनले दुईमध्ये एक रोज्नुपर्दा हालका सहकर्मी रोनाल्डोलाई रोजेका छन् । अर्थुरले मेस्सीलाई भन्दा अगाडि रोनाल्डोलाई राख्नुको कारण पनि बताएका छन् ।

‘यी दुईबीच एकजना रोज्न ज्यादै कठिन छ । दुवै खेलाडीले एकै खेलमा ५ गोल गर्न सक्छन्, गरेका छन् । दुवैसँग विशिष्ट नेतृत्व गर्ने क्षमता छ । तर म यी दुईमध्ये एक रोज्नुपर्छ भने रोनाल्डोलाई रोज्छु । हामी अहिले सहकर्मी पनि हौं । मैले उनलाई रोज्नुपर्ने खास कारण छन्,’ अर्थुरले भनेका छन् ।

अर्थुरले अघि थपेका छन्– ‘नेतृत्व गर्ने हरेक व्यक्तिको आफ्नो लय र शैली हुन्छ । र, मेस्सीले इशाराकै भरमा खेलको दिशा तय गर्न सक्छन् । जब उनको खुट्टामा बल पर्छ, उनले बललाई निश्चित दिशा दिइहाल्छन् । उनको खास खुबी यही हो । उनी पनि अरूजस्तै जित र गोलका लागि सधैं भोको रहने खेलाडी हुन् ।’

तर, अर्थुरले रोनाल्डोलाई मेस्सीभन्दा बढी नेतृत्व क्षमता भएको, सबै खेलाडीसँग सजिलैसित घुलमिल हुन सक्ने र ड्रेसिङ रुमलाई सधैं गतिशील बनाउन सक्ने क्षमता भएको खेलाडी भनेका छन् । अर्थुरले भनेका छन्, ‘रोनाल्डो आफैंमा त्यस्ता व्यक्तित्व हुन्, जसले आफ्नो शारीरिक बनावट र मेहनतबाट आफूलाई विशिष्ट रहेको पुष्टि गर्दै आएका छन् । उनी यस्ता खेलाडी हुन्, जो हरेकपटक खुट्टामा बल पर्दा गोल गर्न चाहन्छन् ।’

अर्थुरले रोनाल्डोको तारिफ गर्दै अघि भन्छन्– ‘रोनाल्डो उत्कृष्ट नेतृत्व क्षमता भएका खेलाडी हुन् । उनी सबै सहकर्मीसँग सजिलैसित घुलमिल हुन सक्छन् । उनले ड्रेसिङ रुमलाई सधैं ऊर्जाशील राख्न सक्छन् । मैले उनीजस्तो खेलाडी अरू देखेको छैन । उनी एक नेता र च्याम्पियन खेलाडी हुन् । उनी हरेक युवा खेलाडीका लागि प्रेरणका स्रोत हुन् ।’

प्रकाशित मिति १४ माघ २०७७, बुधबार १९:३४
Loading...