‘जिदानबाट पीडित’ प्ले मेकर आर्सनलमा अनुबन्ध

एजेन्सी, माघ १४
स्पेनिस क्लब रियल मड्रिडका युवा प्ले मेकर मार्टिन ओडेगार्डले अन्ततः क्लब छाडेका छन् । प्रशिक्षक जिनेदिन जिदानबाट सान्टियागो बेर्नाबेउमा पीडित बनेका नर्वेका ओडेगार्डलाई इंग्लिस क्लब आर्सनलले लोनमा अनुबन्ध गरेको हो । आर्सनलले अफिसियल रूपमा उनलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

नर्वेका २२ वर्षीय ओडेगार्ड अट्याकिङ मिडफिल्डका प्रभावशाली युवा खेलाडी हुन् । तर, रियलमा प्रशिक्षक जिदानले उनलाई प्राथमिकतामा नराख्दा उनी निराश थिए । गत सिजन लोनमा रियल सोसिडाडबाट खेलेका उनलाई रियलले गत समर सिजनमा फिर्ता बोलाए पनि जिदानको योजनामा उनले मौका पाएनन् ।

रियलमा लुका मोड्रिकको विकल्पमा मात्रै खेल्न पाउने भएपछि ओडेगार्डले धेरै समय खेल्न पाएनन् । लगातार टोलीमा समय नपाएपछि ओडेगार्डले क्लब छाडेर आर्सनल रोजेका हुन् । दुई क्लबबीच भएको सम्झौताअनुसार ओडेगार्ड यो सिजनको अन्त्यसम्मका लागि मात्रै आर्सनलमा बस्नेछन् । त्यसपछि उनी रियल नै फर्किनेछन् ।

प्रकाशित मिति १४ माघ २०७७, बुधबार १७:४६
Loading...