कोपा इटालियामा रोनाल्डो नखेल्ने : टिममाथि दबाब

एजेन्सी, माघ १४
इटालियन नकआउट क्लब फुटबल प्रतियोगिता कोपा इटालियाअन्तर्गत क्वार्टरफाइनल खेलमा युभेन्टसका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो नखेल्ने भएका छन् । प्रशिक्षक आन्ड्रेया पिर्लोले पोर्चुगिज फरवाडलाई सो खेलका लागि पूर्ण रूपमा आराम दिने तयारी गरेका छन् ।

कोपामा युभेन्टसले आज राति एसपिएलको सामना गर्दै छ । युभेन्टसको आफ्नो घरेलु मैदानमा हुने यो खेलमा रोनाल्डो हुनेछैनन् । इटालीका मिडियाले एसपिएलविरुद्ध रोनाल्डोलाई आराम दिइने खबर छापेका छन् । रोनाल्डो सो खेलमा नहुँदा फ्रन्ट लाइनमा अल्भारो मोराटामाथि दबाब हुनेछ ।

रोनाल्डोले यसअघि लिग खेलमा बोलोग्नासँग खेलेका थिए । सो खेलमा उनले असिस्ट मात्रै गरेका थिए । त्यसअघि सुपर कपको फाइनलमा नापोलीविरुद्ध २–० को जित निकाल्दा रोनाल्डोले १ गोल गरेका थिए । जारी सिजन रोनाल्डोले सबैखाले प्रतियोगितामा २० खेलबाट २० नै गोल गरेर ५ असिस्ट गरेका छन् ।

प्रकाशित मिति १४ माघ २०७७, बुधबार १३:१७
Loading...