‘आर्सनल पीडित’ ओजिल टर्कीको क्लबमा अनुबन्ध

एजेन्सी, माघ १३
इंग्लिस क्लब आर्सनलमा खराब समय बिताइरहेका जर्मन खेलाडी मेसुट ओजिल टर्किस क्लब फेनरबाचमा अनुबन्ध भएका छन् । उनले आइतबार टर्कीको क्लबसँग आगामी साढे तीन वर्षका लागि सम्झौता गरेका हुन् । उनी गत साता नै टर्की पुगेका थिए ।

लन्डन क्लब आर्सनलमा प्रशिक्षक मिकेल आर्टेटासँग सम्बन्ध बिग्रिएपछि ओजिल आर्सनल छाड्न बाध्य भएका हुन् । त्यसअघिका प्रशिक्षक युनाई एम्रीले पनि ओजिलसँग विभेदपूर्ण व्यवहार गरेका थिए । त्यसपछि आर्टेटाबाट पनि ओजिल त्यस्तै व्यवहारको सिकार बने । पछिल्लो समय उनले आर्सनलमा एक खेलमा पनि खेल्न पाएका थिएनन् ।

तथ्य यस्तो यस्तो छ कि, ओजिलले गत मार्च महिनाबाटै आर्सनलका लागि एक खेल पनि खेल्न पाएका थिएनन् । भलै, आर्सनलसँग उनको सम्झौता सकिन अझै आधा वर्ष बाँकी नै थियो । प्ले मेकर ओजिल सन् २०१३ मा स्पेनिस क्लब रियल मड्रिड छाडेर आर्सनल पुगेका थिए । उनले आर्सनलमा ७ वर्ष बिताउनेक्रममा उनले तीन एफए कपको उपाधि जिते । उनले सो क्लबका लागि कूल २ सय ५४ खेल खेल खेल्दै ४४ गोल गरे ।

प्रकाशित मिति १३ माघ २०७७, मंगलवार २०:०५
Loading...