यी हुन् बार्सिलोनाले बेच्ने खेलाडीको उच्च प्राथमिकतामा रहेका ५ खेलाडी

एजेन्सी, माघ १३
स्पेनिस फुटबल क्लब बार्सिलोनाले यो सिजनको अन्त्यसँगै केही स्टारसहित ५ जना खेलाडी बेच्ने तयारी गरेको छ । क्लबलाई आर्थिक संकटमा फस्नबाट बचाउन र टोली पुनर्निर्माणका लागि विशेष योजनाअनुसार बार्सिलोनाले केही ठूला नामका खेलाडीसहित कम्तीमा ५ जना खेलाडी बेच्ने तयारी गरेको स्पेनका खेल मिडियाले जनाएका छन् ।

पछिल्लो समय क्लबमा आर्थिक संकट बढ्दो छ । जसका कारण बार्सिलोनालाई महँगो तलब–भत्ता लिने खेलाडीको बोझले चिन्ता बढाएको छ । कप्तान लिओनल मेस्सीले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने करिब–करिब पक्का रहेको र अन्य केही स्टार खेलाडी पनि बेचेर बार्सिलोना आर्थिक बोझ कम गर्ने र नयाँ खेलाडीमा लगानी गर्ने योजनामा छ ।

लुइस स्वारेजलाई फ्री ट्रान्सफरमा बिदा गरेपछि बार्सिलोनामा अहिले मेस्सीसहित एन्टोनी ग्रीजम्यान, फिलिपे कोउटिन्हो धेरै तलब लिने खेलाडीमा पर्छन् । खेलाडी अनुबन्धमा मोटो बजेट खर्च भएको र ती खेलाडीबाट अपेक्षित प्रदर्शनसमेत नहुँदा क्लब निराश छ । त्यसमाथि उनीहरूलाई भुक्तान गर्नुपर्ने मोटो तलब–भत्ता बार्सिलोनाका लागि टाउको दुखाइ बनेको छ ।

बार्सिलोना निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’ र ‘मार्का’ मा प्रकाशित रिपोर्टअनुसार बार्सिलोनाले आगामी समर सिजनमा ग्रीजम्यान र कोउटिन्होलाई बेच्ने खेलाडीको सूचीमा प्राथमिकतामा राखेको छ । त्यसैगरी, डिफेन्डर सामुएल उम्टिटी र अर्का डिफेन्डर जुनियर फिर्पो पनि बेचिने खेलाडीको सूचीमा छन् । यता, अस्ति भर्खर समर विन्डोमा अनुबन्ध भएका मिडफिल्डर मिरालेम पियानिचलाई बार्सिलोनाले बेच्ने तयारी गरेको छ ।

बार्सिलोनाले आफ्ना युवा खेलाडी अर्थुर मेलोसँग पियाचिन साटफेर गरे पनि पियानिचको प्रदर्शनबाट बार्सिलोना खुसी छैन । ६५ मिलियन युरो मूल्यका प्ले मेकर खेलाडीबाट खुसी हुन नसकेपछि बार्सिलोनाले उनलाई पनि समर सिजनमा बेच्ने तयारी गरेको हो । तलब–भत्तामा महँगो बजेट जाने ग्रीजम्यान, कोउटिन्हो र पियानिचको बिदाइ गरेर बार्सिलोनाले युवा खेलाडीमा लगानी गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति १३ माघ २०७७, मंगलवार १७:५२
Loading...