रेकर्ड ब्रेकर रोनाल्डो : ३६ वर्षमा फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बने

काठमाडौं, माघ ८
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बनेका छन् । उमेरले ३६ वर्ष पुगेका रोनाल्डोले लिजेन्ड जोसेफ बिकानका नाममा रहेको ७५९ गोलको कीर्तिमान तोड्दै फुटबल इतिहासमा सबैभन्दा धेरै अफिसियल गोल गर्ने खेलाडी बनेका हुन् ।

गत राति इटालियन सुपर कपको फाइनल खेलमा युभेन्टस र नापोलीबीचको खेल दौरान रोनाल्डोले १ सुन्दर गोल गरेका थिए । उपाधि भिडन्तमा रोनाल्डोले खेलको ६४औं मिनेटमा बक्स भित्रबाट सुन्दर गोल गरेका थिए, जुन उनका लागि करिअरको ७६०औं गोल थियो । रोनाल्डोकै प्रेरणादायी प्रदर्शनको मदतमा युभेन्टसले खेल २–० ले जित्दै उपाधि जितेको थियो ।

यसअघि फुटबल इतिहासको सर्वाधिक अफिसियल गोलको रेकर्ड बिकानका नाममा थियो । अस्ट्रिया–चेकोस्लोभाकका बिकानले आफ्नो करिअर दौरान कूल ७५९ गोल गरेका थिए, जुन आजसमम रेकर्डका रूपमा रहेको थियो । तर, रोनाल्डोले गत राति नापोलीविरुद्ध गोल गर्दै बिकानको सो रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाए ।

अब ताजा स्थितिमा रोनाल्डोका नाममा सबैभन्दा धेरै ७६० गोल बनेको छ, यो सबैभन्दा धेरै हो । दोस्रो स्थानका बिकानका नाममा ७५९ गोल छ । त्यसपछि तेस्रो स्थानमा ब्राजिलका महान् पेले छन् । उनका नाममा कूल ७५७ गोल रहेको छ ।

प्रकाशित मिति ८ माघ २०७७, बिहीबार ११:०२
Loading...