रोनाल्डो र मेस्सीको प्रशंसा गर्दै ओजिलले रोजे एक

एजेन्सी, माघ ७
हालसालै इंग्लिस क्लब आर्सनल छाडेर टर्किस क्लब फेनरबाकमा अनुबन्ध भएका जर्मन खेलाडी मेसुट ओजिलले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीको प्रशंसा गरेका छन् । ओजिलले आफ्नो करिअर दौरान क्लब फुटबलमा रोनाल्डोसँग सहकर्मी बनेर खेलेका छन् भने मेस्सीविरुद्ध क्लब र अन्तर्राष्ट्रिय फुटबलमा पनि प्रतिस्पर्धी भएर खेलेका छन् ।

रियल मड्रिडमा छँदा रोनाल्डो र ओजिलको जोडी निकै जमेको थियो । ओजिल जति समय रियल मड्रिडमा रहे, त्यस अवधिमा टिमका लागि सबैभन्दा धेरै असिस्ट दिने खेलाडी ओजिल नै थिए । उनले दिएका असिस्ट मध्ये ८२ प्रतिशत त रोनाल्डोलाई नै दिएका थिए । यसकारण पनि रियल मड्रिडमा रोनाल्डो र ओजिलको जोडीलाई धेरैले रुचाएका थिए । र, आज पनि याद गर्छन् ।

उनै ओजिलले आर्सनल छाडेर टर्कीको पूर्वक्लबमा अनुबन्ध भएपछि एक अन्तर्वार्तामा कुरा गर्दै रोनाल्डो र मेस्सीबारे धारणा राखेका छन् । सोक्रममा ओजिलले दुवै खेलाडीको प्रशंसा गरेका छन् । तर, दुईमध्ये एकमा उनले पूर्वसहकर्मी रोनाल्डोलाई रोजेका छन् । ओजिलले रोनाल्डो र मेस्सीलाई फुटबल इतिहासका महान् खेलाडीको संज्ञा दिँदै करिअरका आधारमा रोनाल्डो मेस्सीभन्दा माथि रहेको बताएका छन् ।

‘मेस्सीले आफूलाई स्पेनमा महान् खेलाडीमध्ये एक खेलाडीका रूपमा साबित गरेका छन् । तर, रोनाल्डो जुन–जुन देशमा खेले, ती सबै देशमा उनी सर्वोत्कृष्ट खेलाडी बने,’ ओजिलले भनेका छन्, ‘दुवै इतिहासका महान् खेलाडी हुन् । तर, म रोनाल्डोलाई मेस्सीभन्दा माथि राख्छु । किनभने, उनको करिअर सार्थक छ । उनले सबैथोक जितेका छन् । मैले उनीसँग खेलेका कारणले मात्रै यो भनेको हैन ।’

ओजिलले बताएका छन् कि, मेस्सीले करिअरमा एक न एक अन्तर्राष्ट्रिय उपाधि जित्दा उनको करिअर सार्थक बन्छ । ‘मेस्सीले बार्सिलोनामा सबैथोक जितेका छन् । यदि उनले अर्जेन्टिनाबाट पनि उपाधि जिते उनको करिअर पूर्ण हुन्छ,’ ओजिलले थपे, ‘मलाई लाग्छ, उनी त्यसको एकदमै हकदार छन् ।’

ओजिलले पोर्चुगलबाट रोनाल्डोले अझै एक उपाधि जित्न सक्ने सम्भावना आफूले देखेको बताएका छन् । ‘किन नजित्ने ? पोर्चुगलको टिम अहिले धेरै राम्रो छ । यो टिमसँग रोनाल्डोले तेस्रो उपाधि जित्न सक्छन्, मैले त्यो सम्भावना देखेको छु,’ ओजिलले थपे ।

प्रकाशित मिति ७ माघ २०७७, बुधबार १७:१३
Loading...