सुपर कपको उपाधिका लागि आज युभेन्टस र नापोली भिड्दै

काठमाडौं, माघ ७
इटालीको वार्षिक फुटबल प्रतियोगिता सुपर कपमा सिजन २०२०–२१ अन्तर्गतको फाइनल खेल आज राति हुँदैछ । यसपटक उपाधिका लागि युभेन्टस र नापोली भिड्दैछन् । खेल इटालीको मापेई रंगशालामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । नापोली र युभेन्टस दुवै आज रातिको खेल जितेर यो सिजनको पहिलो उपाधि उचाल्ने दाउमा छन् ।

सुपर कपको फाइनलमा गत सिजनको सिरी ए च्याम्पियन र गत सिजनको कोपा इटालियाको विजेताले प्रतिस्पर्धा गर्छन् । युभेन्टस गत सिजन सिरी ए च्याम्पियन र नापोली कोपा इटालियाको च्याम्पियन टिमका हैसियतमा आज राति उपाधि भिडन्त गर्नेछन् । सुपर कप गत सिजन लाजियोले युभेन्टसलाई ३–१ ले हराएर जितेको थियो ।

यो सिजन युभेन्टस र नापोली दुवै घरेलु लिगमा निकै कमजोर सिथतिमा छन् । तर, उनीहरूलाई आज राति सिजनको पहिलो उपाधि जित्ने अवसर छ । यी दुई टोलीले यसअघि लिगमा खेल्ने खेल स्थगित भएकाले आज रातिको खेल उनीहरूका लागि यो सिजनको पहिलो भेट हुनेछ ।

सुपर हालसम्म सबैभन्दा धेरै युभेन्टसले कूल ८ पटक जितेको छ । त्यसपछि एसी मिलानले ७ पटक जितेको छ । आज युभेन्टसको सामना गर्न लागेको नापोलीले २ पटक जितेको छ । युभेन्टसले सुपर कप अन्तिमपटक २०१८ मा जितेको थियो भने नापोलीले २०१४ मा जितेको थियो ।

प्रकाशित मिति ७ माघ २०७७, बुधबार ०९:५७
Loading...