कारण पेश गर्दै बार्सिलोनाद्वारा मेस्सीको प्रतिबन्ध फुकुवा गर्न अपिल दर्ता

एजेन्सी, माघ ६
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना प्रमुख खेलाडी लिओनल मेस्सीमाथि लागेको प्रतिबन्धविरुद्ध अपिल दर्ता गरेको छ । आज स्पेनिस फुटबल संघअन्तर्गतको अनुशासन समितिले मेस्सीमाथि अनुशासनको कारबाही गर्दै उनीमाथि आगामी दुई खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णय भएको दुई घन्टा नबित्दै बार्सिलोनाले तत्कालै अपिल दर्ता गरेको हो ।

दुई दिनअघि सुपर कपको फाइनल खेल दौरान मेस्सीले एथ्लेटिक लिल्बाओका खेलाडी भिल्लालिब्रेमाथि हातपात गरेका थिए । त्यसबेला उनलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकालिएको थियो । फाइनलमा बार्सिलोना ३–२ ले हारेको थियो । मेस्सीले क्लब करिअरमा रातो कार्ड पाएको यो नै पहिलोपटक हो ।

बार्सिलोनाले आफ्ना खेलाडीमाति प्रतिबन्धको कारबाही भएको २ घन्टाभित्रै अपिल दर्ता गराएको कुरा अफिसियल प्रेस नोट जारी गर्दै जानकारी दिएको छ । बार्सिलोनाले मेस्सीमाथि दुई खेलको प्रतिबन्ध उचित सजाय नरहेको जिकिर गरेको छ ।

बार्सिलोनाले मेस्सीले रातो कार्ड पाउनु नपर्ने वा थप कारबाही हुनु नपर्ने दाबी गर्दै अपिल पत्रमा भनेको छ– ‘विपक्षीको पोस्टतर्फ बल अघि बढाइएका बेला विपक्षीले उनलाई अराजक तरिकाले रोक्न खोज्दा पाखुराले लाग्नु असामान्य थिएन, खेलका रेफ्रीले बुझाएको खेल रिपोर्टले पनि मेस्सी थप कारबाहीका भागीदार थिए भन्ने कुरामा जोड दिँदैन ।’

बार्सिलोनाको अपिलमाथि लिगले ३ दिनभित्रमा निर्णय दिइसक्नुपर्नेछ । मेस्सी जुन केसमा कारबाहीमा परेका छन्, यस्ता केसका अपिलमाथि प्रायः पुनराविचार हुँदैन । यसलाई अनुशासनहीन हर्कतका रूपमा स्वीकारेर पुनः निर्णय उल्टाउने अभ्यास एकदमै कम छ ।

प्रकाशित मिति ६ माघ २०७७, मंगलवार २१:३२
Loading...