‘विपक्षी खेलाडीमाथि हातपात’ गरेका मेस्सीलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी, माघ ६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीलाई दुई खेलमा प्रतिबन्धको कारबाही फैसला भएको छ । आज स्पेनिस फुटबल संघले मेस्सीमाथि आगामी दुई खेलमा प्रतिबन्ध लगाउने फैसला गरेको हो । दुई दिनअघि सुपर कपको फाइनल खेल दौरान विपक्षी खेलाडीमाथि हातपातमा उत्रिएका मेस्सीको व्यवहार अनुशासनहीन रहेको ठहर गर्दै फुटबल संघअन्तर्गतको अनुशासन समितिले मेस्सीमाथि आज प्रतिबन्धको निर्णय गरेको हो ।

सुपर कपको फाइनल खेल एथ्लेटिक बिल्बाओविरुद्ध खेल्नेक्रममा मेस्सीले खेलको १२१औं मिनेटमा सोझै रातो कार्ड पाएका थिए । उनले बिल्बाओका भिल्लालिब्रेमाथि हातपात गरेका थिए । मेस्सीले पछाडिबाट गर्धनमा हान्दा उनी भुइँमा लडेका थिए । रेफ्रीले भिएआरमार्फत् मेस्सीले जानी–जानी उनीमाथि आक्रमण गरेको पुष्टि भएपछि सोझै रातो कार्ड देखाएका थिए । बार्सिलोना फाइनल खेलमा ९० मिनेटपछि ३० मिनेटको अतिरिक्त समयमा गोल खाएर ३–२ ले हारेर उपाधि गुमाएको थियो ।

मेस्सीले सो खेलमा पाएको रातो कार्ड क्लब फुटबल करिअरकै पहिलो रातो कार्ड थियो । यसअघि उनले क्लब फुटबलमा कहिलयै पनि रातो कार्ड खानु परेको थिएन । अर्जेन्टिनाबाट भने उनले यसअघि नै दुईपटक रातो कार्ड पाइसकेका छन् ।

दुई खेलमा प्रतिबन्ध लाग्दा मेस्सीले अब ला लिगा र कोपा डेल रे फुटबलमा एक–एक खेल गुमाउनेछन् । बिहीबार राति कोपाको अन्तिम ३२ मा हुने कोर्नेल्लाविरुद्धको खेल र त्यसको दुई दिनपछि ला लिागमा हुने इल्चेविरुद्धको खेल मेस्सीले गुमाउनेछन् । जारी सिजन मेस्सीले सबैखाले प्रतियोगितामा २२ खेल खेल्दै १४ गोल र २ असिस्ट गरेका छन् ।

प्रकाशित मिति ६ माघ २०७७, मंगलवार १८:५६
Loading...