बार्यनका डिफेन्डर अलबा र रियल मड्रिडबीच डिल फाइनल

एजेन्सी, माघ ६
जर्मन क्लब बार्यन म्युनिखका डिफेन्डर डेभिड अलबा र स्पेनिस क्लब रियल मड्रिडबीच डिल फाइनल भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरूले यस खबरलाई पुष्टि गर्दै महत्त्वसाथ रिपोर्ट छापेका छन् । अलबा सिजन २०२०–२१ सकिएर आगामी नयाँ सिजन २०२१–२२ अघि नै फ्री ट्रान्सफरमा रियल जानेछन् ।

बार्यनमा लामो समयदेखि सेन्टर ब्याक पोजिसनबाट खेल्दै आएका उनलाई रियलले सर्जियो रामोसको प्रतिस्थापनका रूपमा भित्र्याउन लागेको हो । बार्यनमा अलबाको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । बार्यन र उनीबीच नयाँ सम्झौता नहुने पक्का भइसकेको छ । अलबा सेन्टर ब्याकदेखि विभिन्न पोजिसनबाट खेल्न सक्ने खुबी भएका खेलाडी हुन् ।

हाल २८ वर्ष पुगेका अस्ट्रियाका खेलाडीले बार्यनमा सिजन २००९–२०१० देखि लगातार खेल्दै आएका छन् । उनले हालसम्म बार्यनका लागि ४०८ खेलबाट ३२ गोल गरेका छन् । ‘मार्का’मा प्रकाशित रिपोर्टअनुसार रियल र अलबाबीच प्रतिसिजन ११ मिलियन युरो तलब–सुविधा पाउने गरी सहमति बनेको छ ।

रिपोर्टअनुसार रियल र अलबाबीच चार सिजनका लागि पहिलो चरणमा सम्झौता हुने पक्का भएको छ । तर, हालसम्म रियलले यसको अफिसियल घोषणा भने गरिसकेको छैन । रियलले यसै सातामा औपचारिक रूपमा अलबा अनुबन्धको घोषणा गर्ने सम्भावना छ ।

प्रकाशित मिति ६ माघ २०७७, मंगलवार १७:५४
Loading...