युभेन्टस सिरी ए लिगको उपाधिबाट टाढा–टाढा हुँदै

काठमाडौं, माघ ५
लगातार नवौंपटक सिरी ए लिग च्याम्पियन बनेर इतिहास रचेको युभेन्टस यस सिजन उपाधि होडमा कठिन अवस्थामा पुगेको छ । गत राति इन्टर मिलानविरुद्धको खेलमा पराजित भएपछि युभेन्टसलाई उपाधि होडमा ठूलो झट्का लागेको छ । मिलानको घरमा आफ्नो १७औं साताको खेल खेल्न पुगेको युभेन्टस २–० ले स्तबध बन्दा उसको कठिनाइ बढेको हो ।

उपाधि होड कायमै राख्न युभेन्टसका लागि मिलानविरुद्धको खेल ज्यादै महत्त्वपूर्ण थियो । तर, दोस्रो स्थानको मिलानसँग पराजित भएपछि युभेन्टसको आगामी बाटो निकै बन्ने देखिएको छ । युभेन्टस अब १७ खेल सकिँदा मात्रै ३३ अंक बनाएर पाँचौं स्थानमा छ । युभेन्टसले यो सिजन कूल ५१ अंकमध्ये १८ अंक गुमाइसकेको छ ।

ताजा स्थितिमा युभेन्टस समान १७ नै खेल खेलेको लिग लिडर एसी मिलान र १८ खेल खेलेको इन्टर मिलानसँग समान ७–७ अंकले पछि छ । गत राति युभेन्टसलाई हराएको इन्टर मिलानले एसी मिलानको ४० अंकसँग बराबरी गरेको छ । एसी मिलानले आज राति आफ्नो १८औं खेल खेल्दै छ । यदि एसी मिलानले क्याग्लिअरीविरुद्ध हुने आज रातिको खेल पनि जिते युभेन्टस लिग लिडरभन्दा ठीक १० अंकले पछि पर्नेछ । तर, युभेन्टसले नापोलीसँगको एक खेल खेल्नै बाँकी हुनेछ ।

हालकै स्थितिमा युभेन्टसका लागि उपाधि होडमा फर्किन कठिन बन्दै गएको छ । लगातार १०औं पटक लिग च्याम्पियन बन्ने अभियानमा रहेको युभेन्टस आज राति एसी मिलानको खेलपछि १० अंकले पछि पर्ने सम्भावना छ, जुन उसका लागि सहज हुनेछैन । तर, युभेन्टसले आफ्नो खेल्न बाँकी एक खेल जिते एसी मिलान र इन्टर मिलानसँगको दूरी छोट्याउनेछ ।

गत सिजन युभेन्टसले लिग जित्दा सिजनभरिमा कूल ५ खेल मात्रै बराबरी गरेको थियो । तर, यसपालि त उसले मात्रै १७ खेल सकिँदा ६ खेल बराबरी गरेर २ खेल हारिसकेको छ । युभेन्टस यसपटक लिगमा गत सिजनभन्दा निकै कमजोर स्थितिबाट गुज्रिरहेको छ । हालकै स्थितिलाई हेर्ने हो भने युभेन्टसका लागि अंकगणितीय हिसाबले उपाधि अझै पनि खुला छ । तर, अहिले युभेन्टस जरी अघि बढिरहेको छ, ऊ उपाधिबाट बिस्तारै–बिस्तारै टाढा पुगेको देखिँदैछ ।

प्रकाशित मिति ५ माघ २०७७, सोमबार २०:५५
Loading...