फाइनलमा हारेपछि ग्रीजम्यान आफ्नै सहकर्मीसँग रिसाए : खेलपछि यस्तो प्रतिक्रिया

एजेन्सी, माघ ५
स्पेनिस सुपर कप फुटबलको फाइनल खेलमा पराजित भएपछि बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रीजम्यानले आफ्नै सहकर्मीसँग अन्तुष्टि व्यक्त गरेका छन् । टिमको डिफेन्स लाइनले सावधानी अपनाउन नसक्दा फाइनल गुमाउनु परेको भन्दै फ्रेन्च फरवार्डले खेलपछि मिडियामा निराशा पोखे । रक्षापंक्तिले पटक–पटक गल्ती गर्दा उपाधि गुमेको ग्रीजम्यानको बुझाइ छ ।

गत राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओले बार्सिलोनालाई नाटकीय रूपमा ३–२ ले हराउँदै उपाधि जितेको थियो । बार्सिलोनाका लागि ग्रीजम्यान एक्लैले २ गोल गरे पनि टिमले उपाधि जित्न सकेन । ग्रीजम्यानले बार्सिलोनाका खेलको ४०औं र ७७औं मिनेटमा गरी २ गोल गरेका थिए । तर, बिल्बाओले ९० मिनेटपछि थपिएको ३० मिनेटको समयमा विजयी गोल गर्दै उपाधि जित्यो ।

बार्सिलोनाले खाएका ३ गोलमध्ये २ गोल फितलो रक्षापंक्तिका कारण खाएको थियो । पहिलो गोल डिफेन्डर जोर्डी अल्बाको गल्तीका कारण भएको थियो भने दोस्रो गोल क्लेमेट लेङलेटको गल्तीले भएको थियो । रक्षापंक्तिले गरेका दुई गल्तीले खेल बार्सिलोनाको हातबाट फुत्किएको थियो, जुन कुरा ग्रीजम्यानले खेलपछि लुकाउन सकेनन् ।

‘हामीलाई थाहा थियो कि, बिल्बाओले हामीलाई कठिन पार्नेछ । उनीहरू एक बलिया टोली हुन् । तर, हामीले फाइनल हार्ने कुरा सोचेका थिएनौं । हामी उपाधिको हकदार थियौं । हामीले २ गोल गर्यौं । तर, उनीहरूले हाम्रो कमजोरीमा प्रहार गरे,’ खेलपछि ग्रीजम्यानले भने ।

ग्रीजम्यानले अघि थपे, ‘हामीले नखानुपर्ने २ गोल खायौं । खास गरी हामी रक्षापंक्तिमा निकै कमजोर देखियौं । हामीले आवश्यक परेका बेला टिमसँग सञ्चार गर्न सकेनौं । र, जुन समयमा जे गर्नुपर्ने थियो, त्यो गरेनौं । उनीहरू हाम्रो गल्ती पर्खिरहेका थिए । र, हामीले गल्ती गर्नासाथ फाइदा उठाए ।’

ग्रीजम्यानले फाइनल पुगेर उपाधि हार्नु निकै पीडादायी हुने बताए । ‘जब हामी मेहनत गरेर फाइनल पुग्छौं र उपाधि गुमाउँछौं भने यसको पीडा सामान्य हुँदैन । अवश्य पनि म ज्यादै दुखी छु । म बार्सिलोनाबाट पहिलो उपाधि जित्न चाहन्थें । तर, त्यसको नजिक पुगेर पनि हामी चुक्यौं,’ ग्रीजम्यानले निराश हुँदै भने ।

प्रकाशित मिति ५ माघ २०७७, सोमबार १८:५६
Loading...