सुपर कपको फाइनल आज : उपाधिका लागि बार्सिलोना र बिल्बाओ भिड्दै

काठमाडौं, माघ ४
स्पेनिस सुपर कप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । सिजन २०२०–२१ अन्तर्गतको पहिलो उपाधिका लागि ला लिगा टोली बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिडन्त गर्दैछन् । फाइनल खेल सेभिल्ला सहरस्थित इस्टाडियो ला कार्टुजा डे सेभिल्लामा नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुँदैछ । यो समाचार बनाउँदासम्म बार्सिलोनाले बिल्बाओविरुद्ध खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छैन ।

आज बार्सिलोना सिजनको पहिलो उपाधि जित्ने लक्ष्यसाथ बिल्बाओको सामना गर्दैछ । आजको फाइनल दुवै टोलीका लागि यो सिजनको पहिलो फाइनल खेल हो । आज बार्सिलोना र बिल्बाओ दुवै एकअर्कालाई हराएर उपाधि जित्ने होडमा छन् । पछिल्लो राम्रो लयमा फर्किएको बार्सिलोना आज फाइनल खेलमा बढी उत्साहित छ ।

तर, कप्तान लिओनल मेस्सीले आजको फाइनल खेल खेल्लान् कि नखेल्लान् भन्ने चासो अझै पनि छ । खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै रोनाल्ड कोम्यानले खेलको समयभन्दा १२ घन्टाअघिसम्म मेस्सीले फिटनेसमा कस्तो महसुस गर्छन्, त्यसले उनी खेल्ने कि नखेल्ने भन्ने कुरा निर्भर गर्ने बताएका छन् । यसको अर्थ अझै पनि फाइनलमा मेस्सीले खेल्ने निश्चित छैन । खेलको अवस्थाअनुसार कोम्यानले मेस्सीलाई दोस्रो हाफमा बेन्चबाट मैदान छिराउने सम्भावना प्रबल छ ।

यदि मेस्सीबिनै खेल जित्ने अवस्था देखिए कोम्यानले मेस्सीलाई अन्तिम केही मिनेट खेलाउन सक्नेछन् । तर, खेलमा कठिनाइ भए दोस्रो हाफमा चाँडो गरी मेस्सीलाई उतार्ने सम्भावना देखिन्छ । यो सुपर कप भएकाले बार्सिलोना उपाधि जित्नकै लागि मेस्सीलाई जोखिम मोलेर खेलाउने पक्षमा भने छैन । खेलअघि कोम्यानले भनेका छन्, ‘यो सुपर कप हो । हामीले यस खेलमा बढी दबाब महसुस गर्नु आवश्यक छैन । हामी शान्त हुनुपर्छ र योजनालाई फलो गरेर खेल्नुपर्छ । सुपर कप जित्नु राम्रो हो । तर, यसको हारले सिजनलाई ठूलो असर भने गर्दैन ।’

सुपर कपको उपाधि हालसम्म सर्वाधिक जित्ने टिम बार्सिलोना हो । उसले यो उपाधि कूल १३ पटक जितेको छ । ऊ आज १४औं उपाधिको खोजीमा छ । ऊपछि दोस्रो धरै जित्ने रियल मड्रिड हो । उसले ११ पटक जितेको छ । गत सिजन रियलले नै उपाधि जितेको थियो । यता, बिल्बाओले सुपर कप हालसम्म दुईपटक जितेको छ ।

प्रकाशित मिति ४ माघ २०७७, आईतवार ०९:३३
Loading...